नेपालगञ्ज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । आज एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र प्रदान गरेपछि नेपालगन्ज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको हो ।

यो संगै जिल्लाका आठ वटै पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका छन् । नेपालगञ्जका २३ वडाका १६ देखि ५९ महिनाका बालबालिकाहरुले १५ महिनाभित्र लगाउनुपर्ने खोपको लक्षित ८५६४ जना मध्ये ८१७१ (९६ प्रतिशत) घरधुरी सर्वेक्षण गर्दा पूर्ण खोप लगाएको र बाँकी ४ प्रतिशत बालबालिकालाई खोपको दायरामा ल्याई नियमानुसार खोप प्रदान गरी पूर्ण खोप घोषणा गरिएको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज ओलीले जानकारी दिनुभयो ।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि प्रत्येक वर्ष माघ र फाल्गुन महिनामा खोज र खोप अभियान तथा घरधुरी सर्वेक्षण गरिन्छ । त्यसपछि जन्मेदेखि १५ महिनासम्मका बालबालिकाहरुले खोप लगाउन सुरु गरेरनगरेको नामावली सूचीकृत गरिन्छ र १६ देखि २३ महिनाका बालबालिकाहरुले पूर्ण खोप पाए नपाएको सर्वेक्षण गरी छुटेका सबै बालबालिकालाई वैशाख महिनामा पूर्ण खोप दिएपछि वडा हुँदै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिन्छ ।

नेपालगन्ज उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम नेपालगन्जका उपप्रमुख राईको अध्यक्षता एवम् जिल्ला समन्वय समिति प्रमुख चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख सीता कार्की, २३ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, विभिन्न शाखा प्रमुख, स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठ, २३ वटै वडाका स्वास्थ्य संस्था प्रमुख, पत्रकार लगायतको उपस्थिति रहेको नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख चौधरी, उपप्रमुख राई, जिल्ला समन्वय अधिकारी विक्रम पाण्डे, वडा नम्बर २० का वडा अध्यक्ष कौशल कुमार धोबी, स्वास्थ्य महाशाखा प्रमुख चन्द, वडा नम्बर ६ स्वास्थ्य संस्था प्रमुख नवराज न्यौपानेले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

Previous articleगाउँपालिका अध्यक्षले नै बहिस्कार गरेपछि गाउँसभा अन्यौल
Next articleवडाले स्वास्थ्यलाई उपेक्षा गरेको गुनासो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here