
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ ले तीन जना स्वयंसेविकालाई नगदसहित सम्मान गरेको छ । १२ नम्बर वडा कार्यालयले शुक्रबार वडा भेलामार्फत नगद ११/११ हजार रुपैयाँसहित स्वयंसेविका तुलसा थापा, विना पाण्डे र रेश्मा गौतमलाई सम्मान प्रदान गरेको हो ।
कार्यक्रममा बागेश्वरी आधारभुत विद्यालय बेलासपुरका अवकास प्राप्त शिक्षिका गिता पौडेल र सरिता श्रेष्ठ खड्कालाई पनि सम्मानित गरिएको छ । उहाँहरुलाई वडा अध्यक्ष तरुण बज्राचार्य र ज्येष्ठ नागरिक क्लबका अध्यक्ष अजित कुमार शर्माले नगदसहित सम्मान प्रदान गर्नुभएको थियो ।
भेलामा वडा अध्यक्ष बज्राचार्यले आगामी वर्षका लागि वडामा ९१ लाख ८४ हजार रुपैयाँको बजेट प्राप्त भएको बताउनुभयो । बज्राचार्यले कार्यक्रममा यो वर्ष वडाले राम्रा कामहरु सम्पन्न गर्न सफल भएको बताउनुभयो ।
वडा अध्यक्ष बज्राचार्यका अनुसार यो वर्ष वडाले टोल विकास समितिको गठन र परिचालन, प्रदेश स्तरबाट स्वास्थ्य चौकीमा सोलार जडान, ४५ लाखको लागतमा ज्येष्ठ नागरिक मिलन केन्द्र भवनको निर्माण, विभिन्न स्थानमा नाली तथा सडक निर्माण, शिव मन्दिर निर्माण, वडामा विभिन्न स्वास्थ्य शिविर संचालन, आयआर्जन तथा स्वरोजगार तालिमहरु संचालन, महिला दिदी–बहिनीहरुलाई जनचेतनामूलक कार्यक्रम संचालन भएको छ ।
भेलामा सहभागि भएकाहरुले आगमी वर्षमा गर्नुपर्ने वडाले गर्नुपर्ने विकासका निर्माणका कामहरुको बारेमा सुझाव दिएका थिए ।





