
नेपालगञ्ज । बाँकेमा ११ वर्षदेखि फरार अपराधी पक्राउ गर्ने क्रममा झडप भएपछि प्रहरीले गोली चलाएको छ । अपराधी समात्न पुगेको प्रहरी टोलीलाई अवरोध भएपछि बाँकेको सिख्खनपुर्वामा प्रहरीले गोली चलाएको हो ।
डुडुवा गाउँपालिका वडा नं-६ का डाँका चोरी मुद्दामा सजाए पाएका सरमान सिंह सरदारलाई पक्राउ गर्न प्रहरी पुगेको थियो । बिहीबार बिहान करिब साढे ८ बजेको समयमा पक्राउ गरेर ल्याउने क्रममा स्थानीयले प्रहरीमाथि ढुंगा र इट्टा प्रहार गरेर अवरोध गरेका थिए ।
स्थानीयको अवरोधका क्रममा सरमान हत्कडीसहित फरार भएका थिए । सो क्रममा प्रहरीले तीन राउण्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले जानकारी दिनुभयो ।
गोली चलाएर नियन्त्रणमा लिएका सरमानको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको घुडामा गोली लागेको छ । अवरोधका क्रममा स्थानीयको ढुंगा, इट्टा प्रहारबाट ईलाका प्रहरी कार्यालय हिरमिनियामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार मदन डाँगीको बायाँ हात र टाउकोमा चोट लागेको छ ।
झडपका क्रममा प्रहरीको हतियार नियन्त्रणमा लिन खोज्ने त्यहीँका नानक सिंहको दायाँ खुट्टाको साप्रामा गोली लागेको छ । घाइतेहरुको उपचार भइरहेको छ । सरमानलाई डाँका चोरी मुद्दामा २०७० असार १८ गतेको फैसलाले ६ वर्ष कैद र १२ हजार जरिवाना तोकेको थियो ।





