
अमन अन्सारी
नई दिल्ली (भारत) । सार्क राष्ट्रद्वारा दिल्लीमा स्थापना भएको साउथ एशियन युनिभर्सिटीका अध्यक्ष प्रोफेसर के के अग्रवालले नेपालका पराराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवालाई दिल्लीस्थित होटेल शेरेटनमा शिष्टाचार भेट गर्नुुुभएकाे छ ।
भेटका क्रममा विश्वविद्यालयमा पढाइने पाठ्यक्रम, पढाउने प्राध्यापक र अध्ययनरत छात्र-छात्राका साथै अन्य गतिविधिका बारेमा प्रोफेसर अग्रवालले मन्त्री डाक्टर राणालाई जानकारी गराउनुभएकाे थियाे ।
विश्वविद्यालय सार्क सदस्य मुलुक भएकोले सार्क मुलुकको सामाजिक आर्थिक र भौगोलिक समस्या समाधानमा केन्द्रीत रहेर कोर्ष सञ्चालन गर्न लागिएको प्राध्यापक अग्रवालले मन्त्री राणालाई जानकारी गराउनुभएकाे थियाे ।
दक्षिण एशियाको पहिलो र एकमात्र विश्वविद्यालय जसलाई सार्क देशका नेपाल, भारत, अफगानिस्तान, बांग्लादेश, भूटान, माल्दीप्स, पाकिस्तान र श्रीलंकाले मिलेर चलाईरहेकोले विश्वविद्यालयको वातावरण विविधतामा एकता रहेको अग्रवालले बताउनुभयाे ।
मन्त्री राणाले साउथ एशियन युनिभर्सिटिका कुलपति अग्रवालाई बधाई दिँदै सदस्य राष्ट्रबीचको सम्बन्धलाई बढावा दिने पुलको रुपमा रहेको यस विद्यालय नलेज विदाउट बोर्डर्सको अवधारणाको प्रशंसा गर्नुभयाे ।
दक्षिण एशियाली विश्वविद्यालयलाई सम्बोधन गदै उहाँले विश्वविद्यालय सार्क राष्ट्रका लागि शिक्षाको ज्योति भएको बताउँदै आफू चाँडै नै पुनः विश्वविद्यालयको भ्रमणका लागि नयाँ दिल्ली आउने बताउनुभएकाे थियाे ।
मन्त्री राणाले शिक्षाका हिसाबले साउथ एशियन युनिभर्सिटीलाई विश्व मानचित्रमा ल्याउन अग्रवालको प्रयासको सह्राना गर्दै सार्क राष्ट्रको आवश्यकतालाई ध्यानमा राखेर प्राज्ञिक अनुसन्धान गर्न सुझाव दिनुभयाे ।
मन्त्री राणाले विश्वविद्यालयको प्रतिष्ठा बढाउन र अध्ययनरत विद्यार्थीको हितमा जे जति सहयोग हुन्छ, त्यसलाई नेपालले गम्भीरताका साथ हेर्ने बताउनुभयाे ।
परराष्ट्र मन्त्री बनेपछि पहिलो पटक भारत भ्रमणमा जानुभएकी डाक्टर राणालाई प्राध्यापक अग्रवालले दक्षिण भारत र उत्तर भारतको साँस्कृतिक समृद्धि झल्किने परम्परागत शाल, मणिमाला र स्मृति चिन्हसमेत प्रदान गर्नुभएको थियाे ।
पराष्ट्र मन्त्री राणासँगको भेटमा दिल्लीस्थित नेपाली राजदूतावासका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।
(डाक्टर ओपी यादव, जनसम्पर्क तथा सूचना अधिकारी, साउथ एशियन युनिभर्सिटिको सहयोगमा ।)





