
नेपालगञ्ज । नेपालगञ्जमा आयोजना गरिएको सामूहिक तीज गीत प्रतियोगितामा कोपिला महिला कृषि सहकारी संस्था लिमिटेड नेपालगञ्ज वडा नं-२२ पुरैनी प्रथम भएको छ ।
मानव वेचविखन तथा ओसापसारविरुद्ध तीज गीत प्रतियोगितामा सहभागि पाँच वटा समूहमध्ये कोपिला प्रथम हुन सफल बनेको हो ।
तिनै तहको सरकारको प्रतिबद्धता : मानव वेचविखन विरुद्ध सबैको एैक्यवद्धता नाराका साथ तय गरिएको मानव वेचविखन विरुद्धको दिवसको अवसरमा नेपालगञ्जमा आयोजना गरिएको सो प्रतियोगितामा मखमली बहुद्देश्यीय कृषि सहकारी संस्था नेपालगञ्ज वडा नं-२० राँझा द्वित्तीय भएको छ ।
प्रतियोगितामा चेतनशील महिला विकास समिति नेपालगञ्ज वडा नं-७ तृतीय भएको छ भने नमूना महिला विकास समिति र परिवर्तनका लागि नेतृत्व विकास समूह सान्त्वना स्थान हासिल गरेका छन् ।
विजयी समूहरुलाई नेपालगञ्जका नगरप्रमुख प्रशान्त बिष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, प्रहरी प्रमुख तुल बहादुर कार्कीले प्रमाण पत्र र मायाको चिनो प्रदान गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख बिष्टले सबैका सहकार्यमा मानव वेचविखन विरुद्धको सचेतना जगाउन आवश्यक रहेको भन्दै आआफ्नो क्षेत्रमा सक्रियताका लागि लाग्नुपर्ने बताउनुभयो । उहाँले नेपालगञ्ज विविध कारणले यसको जोखिम हुने क्षेत्र भएकाले यहाँ सबैको उत्तिकै चाँसो र सजकता अपनाउनुपर्नेसमेत अवस्था रहेको उल्लेख गर्नुभयो ।
सो अवसरमा प्रजिअ रिजाल, बाँके प्रहरी प्रमुख कार्कीलगायतले मानव वेचविखन विरुद्धको सचेतना गाउँ गाउँसम्म पुर्याउनका लागि रचनात्मक कार्यहरु जरुरी रहेकोमा जोड दिनुभएको थियो ।
यस पटकको १८ औं मानव वेचविखन विरुद्धको दिवसको अवसरमा यस खालको प्रतियोगिता आयोजना गर्ने निर्णय भएअनुसार नेपालगञ्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले मानव बेचबिखन विरुद्ध गीत, रचना र प्रस्तुतीकरण प्रतियोगिताका लागि समूह, समिति, सहकारी संस्था, आमा समूहलगायतलाई सहभागिताका लागि आह्वान गरेको थियो ।
जसअन्तर्गत तोकिएको समयभित्र पाँच वटा समूह दर्ता हुन आएको शाखा प्रमुख महिला विकास अधिृकत मञ्जु पाण्डेयले जानकारी दिनुभयो । नगरपालिकास्तरीय मानव वेचविखन तथा ओसापसार नियन्त्रण समिति एवं लैंङ्गिक हिंसा विरुद्ध निगरानी संजाल नेपालगञ्जको आयोजनामा गरिएको प्रतियोगितामा कार्यपालिका सदस्य बसन्त कनोजिया, मुजम्मिल शेष, महिला बालबालिका तथा नागरिक सेवा केन्द्रकी प्रमुख प्रहरी निरीक्षक शिवा थापा लगायतले उपस्थिति रहेको थियो ।
निर्मल सुवेदीले कार्यक्रमको संयोजन गर्नुभएको थियो भने कार्यक्रमलाई महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका महिला विकास अधिकृत पवित्रा पुरीले संचालन गर्नुभएको थियो । प्रतियोगितामा चर्ती फ्लोराको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । यस पटक यही भाद्र २० गते मानव वेचविखन तथा ओसापसार विरुद्धको राष्ट्रिय दिवस मनाइदैछ ।





