
नेपालगञ्ज । लागूऔषध प्रयोगकर्ता बिरामी भएकाले उनीहरूकाे उपचारमा प्राथमिकता दिनुपर्ने एक कार्यक्रममा जाेड दिईएकाे छ ।
लागूऔषध प्रयाेगकर्ताहरूकाे हितमा लामाे समयदेखि काम गर्दै आईरहेकाे रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेशले मंगलबार नेपालगन्जमा आयाेजना गरिएको अधिमुखिरण कार्यक्रममा वाेल्ने वक्ताहरूले यस्ताे कुरामा जाेड दिएका हुन् ।
रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेशकी अध्यक्ष इन्द्रा कुमारी जिशीले लागूऔषधका विषयमा नेपाल सरकारको दोहोरो नीतिका कारण काम गर्न असहज भएको बताउनुभयाे । ‘लागूऔषधका विषयमा नेपाल सरकारकै नीति नै बाँझिने खालको छ । स्वास्थ्य मन्त्रालयले लागूऔषध प्रयोगकर्तालाई बिरामीको रुपमा हेरेको छ भने गृह मन्त्रालयले लागूऔषध प्रयोगकर्तालाई अपराधीको रुपमा हेरेको छ,’ अध्यक्ष जिशीले भन्नुभयाे ।
उहाँले रिकमरिङ्ग नेपालले भने लागूऔषध प्रयोगकर्तालाई बिरामीको रुपमा हेर्ने गरेको बताउँदै उनीहरुलाई लागूऔषधबाट बाहिर निकाल्न, उनीहरुलाई एचआभी, हेपाटाइटिस जस्ता रोगहरुबाट जोगाउने काम रिकभरिङ्ग नेपालले गरिरहेको बताउनुभयाे ।
कार्यक्रममा रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेश फोकल पर्सन प्रविण बिसीले लागूऔषध सम्बन्धी ऐन, नियमलाई सुधार्न रिकभरिङ्ग नेपाल लागिपरेको बताउनुभयाे ।
बिसीले भन्नुभयाे, ‘सरकारले कुनै एकजनाको आवाज सुन्दैन । त्यसैले रिकभरिङ्ग नेपालले लागूऔषध सम्बन्धी ऐनलाई सच्याउन एउटा टिम नै बनाएर लागिपरेको छ । यसमा आवश्यक सबै कुराहरुको प्रतिवेदन हामीले गृह मन्त्रालय पठाइसकेका छौं ।’
बिसी विश्व स्वास्थ्य संगठनले समेत लागूऔषध प्रयोगकर्तालाई बिरामीको संख्या दिइसकेको अवस्थामा नेपाल सरकार भने अझै अलमलमा परेको र जसका कारण धेरै लागूऔषध बिरामीहरुको ज्यान नै जोखिममा रहेको कुरामा उहाँकाे जोड थियाे ।
रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेशकी महासचिव यशोदा ज्ञवालीले महिला लागूऔषध बिरामीका लागि झनै समस्या रहेको जिकिर गर्नुभयाे । उहाँले सरकारको ऐन नै बाझिने र सरकारले लागूऔषध बिरामीका लागि एउटा पनि सुधार गृह स्थापना गर्न नसक्नु सरकारको कमजोरी रहेको बताउनुभयाे ।
कार्यक्रममा रिकभरिङ्ग नेपालले ६ महिनाको कार्यक्रमहरू पनि सार्वजनिक गरेको छ । अगष्ट २०२४ देखि जनवरी २०२५ सम्म रिकभरिङ्ग नेपालले लुम्बिनी प्रदेशमा लागूऔषध बिरामीका लागि गर्ने कार्यक्रमको तालिका सार्वजनिक गरिएको हो ।





