संगठन सुदृढीकरणका लागि कांग्रेसले ८१ वटै वडामा खटायो प्रतिनिधि

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले ‘चार महिने पार्टी संगठन सुदृढीकरण अभियान’ थालेको छ । भदौ २४ गतेदेखि पुस मसान्तसम्म चल्ने गरी चार महिने अभियान थालिएको हो ।

‘जेष्ठ नागरिक, महिला र युवाको योगदानः पार्टी संगठन सुदृढीकरणमा बाँके कांग्रेसको अभियान’ नाम दिइएको चार महिने अभियानका लागि जिल्लाका ८१ वटै वडामा जिल्ला प्रतिनिधि खटाइएका छन् ।

जिल्लामा रहेका ८१ वटा वडाहरुको सांगठनिक अवस्थाको बारेमा जानकारी लिँदै वडा तथा टोल स्तरमा रहेका नेपाली कांग्रेसका अगुवा, जेष्ठ नागरिक, महिला र युवाहरुको पहिचान गरी पार्टीप्रतिको भूमिका, सक्रियताको अवस्थालाई विश्लेषण गर्दै उनीहरुलाई पार्टी संगठन सुदृढीकरणमा एकताबद्ध बनाउँदै लैजाने अभियानको मुख्य उद्देश्य रहेको बाँकेका पार्टी सभापति नारायण प्रसाद गौडेलले बताउनुभयो ।

स्थानीय तहबाट सेवा प्रवाहको अवस्था, विकास निर्माण, समुदायस्तरमा भएका सकारात्मक प्रयास, उपलब्धि र सुधार गर्नुपर्ने विषयमा जिल्ला तहबाट नीतिगत रुपमा पहलकदमी लिने, भ्रातृ, शुभेच्छुक संगठनलाई सक्रिय बनाउने, जनताका गुनासो सुनेर समाधानका लागि पहल गर्ने लगायतका उद्देश्य यो अभियानको छ ।

सभापति गौडेलले अभियानको अन्तिममा ८१ वटै वडामा एकै दिन वडा सम्मेलन गरेर अभियानको समापन गर्ने कार्ययोजना रहेको बताउनुभयो ।

Previous articleधम्बोझीलाई एन एम बि बैंकको सहयोग
Next articleबारबर्दियामा महिलाको हत्या, एक जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here