
नेपालगञ्ज । पश्चिम नेपालको प्रसिद्ध बागेश्वरी मन्दिर परिसर दुर्गन्धित बन्दै गएको छ । मन्दिर गुठीको वेवास्ता र भक्तजनहरुको लापरवाहीले मन्दिर क्षेत्र दुर्गन्धित बन्दै गएको हो ।
मन्दिर क्षेत्रमा रहेको जुंगे महादेवको मन्दिरको तलाउमा फोहोर थुप्रिँदै गएपनि कसैले ध्यान दिएका छैनन् । पुजा अर्चनाका लागि मन्दिर पुग्ने भक्तजनहरुले समेत मन्दिर क्षेत्रलाई सफा राख्न वेवास्ता गरेको देखिन्छ ।
जुंगे महादेव मन्दिर स्थल पुनःनिर्माणका लागि शुरु भएको निर्माण कार्य पनि समयमा पुरा हुन सकेको छैन भने तलाउको वरीपरि भएको निर्माण कार्यले तलाउ क्षेत्र फोहोर क्षेत्रको रुपमा परिणत भएको छ ।
तलाउमा अहिले घाँस र झारसमेत उम्रिएको छ भने मिनरल वाटरको बोतलले तलाउ फोहोर व्यवस्थापन क्षेत्रका रुपमा देखिन थालेको छ । मन्दिर परिसर क्षेत्रमा फोहोर थुप्रिन थालेपनि तलाउ क्षेत्रको सरसफाई गर्न गुठीले वेवास्ता गरेको देखिन्छ ।
हिन्दुहरुको महान चाड बिजया दशमी तथा दिपावली समेत नजिकिएको छ । यस बेला नेपालका मात्रै नभएर भारतको भिन्न क्षेत्रबाट भक्तजनहरु बागेशवरी दर्शन गर्न आउने गर्छन ।
स्थानीय सरकारले तलाउको सरसफाई र मन्दिर क्षेत्रको नियमित सरसफाई गराए आफैमा राम्रो कार्य हुने स्थानीय भन्छन् तर स्थानीय सरकार भने नदेखेको झै गरेको देखिन्छ ।






