नेपालगञ्ज । नेपाल किसान महासंघ बाँकेले विभिन्न मागसहित सरकारलाई शुक्रबार ज्ञापन पत्र बुझाएको छ ।
महासंघ बाँकेका अध्यक्ष लाहुराम थारुको नेतृत्वमा नेपाली काँग्रेस बाँकेको पदाधिकारी सम्मिलित टोलीले किसानहरुको विभिन्न मागसहितको ज्ञापन पत्र सरकारलाई बुझाइएको हो ।
टोलीले जिल्ला प्रशासन कार्यालयमा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई ज्ञापन पत्र बुझाएको छ । सो क्रममा बोल्दै प्रजिअ रिजालले आफुले सम्बन्धित निकायमा पठाउने प्रतिक्रिया दिनुभयो । साथै उहाँले यसका लागि जिल्लास्तरका सरोकारवाला कार्यालयसँग समेत आवश्यक प्ररामर्श गर्ने बताउनुभएको थियो ।
यस्तै काँग्रेस बाँकेका उपसभापति गोपाल प्रसाद अधिकारीले किसानहरुलाई नेपालगञ्ज आएर धान बिक्री गर्न समस्या भएको हुँदा जिल्लामा क्षेत्रगत रुपमा खरिद केन्द्र स्थापना गर्न आवश्यक रहेकोमा त्यसतर्फ ध्यान केन्द्रीत गराउनुभएको थियो ।
महासंघमा जिल्लाका विभिन्न पालिकाका किसानहरुको आवद्धता रहेको र उहाँहरुको आवश्यकता अनुसार नै महासंघले आफ्ना मागहरु सरकार समक्ष पेश गरेको भन्दै उपसभापति अधिकारीले यस बारेमा सरोकारवालाहरुसँग बसेर छलफल गर्नपरे गर्न समेत बाँकेका प्रजिअलाई अनुरोध गर्नुभयो ।
महासंघ बाँकेका अध्यक्ष थारुले किसानहरुलाई कृषि कार्यका लागि सहज बनाई उत्पादन गरेका सामाग्रीहरुको उचित मुल्य पाउने वातावरण सरकारले बनाउनुपर्ने धारणा राख्नुभयो । उत्पादन गरिएका सामानहरुले भाउ नपाउँदा किसानहरु कम मुल्यमा बिचौलियाहरुलाई बेच्न बाध्य रहेको अवस्थाको पनि प्रजिअ रिजाललाई अध्यक्ष थारुले ध्यानाकर्षण गराउनुभयो ।
कृषिजन्य बस्तु (धान) र अन्य कृषि उत्पादन बस्तुको मुल्य तोक्न तथा रविबालीको समय रहेका हुँदा तत्काल मलखाद, बिउ बिजन र किटनाषक औषधी उपलबध गराउन सरकारसँग ज्ञापन पत्रमार्फत माग गरिएको छ ।
काँग्रेस बाँकेको व्यवस्थापन तथा संयोजनमा भएको ज्ञापन पत्र बुझाउने कार्यक्रममा काँग्रेस जिल्ला सचिव सुधान्सु कोइराला लगायतको सहभागिता रहेको थियो । ज्ञापन पत्र बुझाउन अघि काँग्रेस बाँकेको पार्टी कार्यालयबाट निस्किएको र्यालीले नेपालगञ्जको परिक्रममा गर्दै प्रशासन कार्यालय पुगेको थियो ।