लैंङ्गिक तथा जलवायु परिवर्तन (पाठ्यक्रम) सम्बन्धी तालिम शुरु

नेपालगञ्ज । बालिका शिक्षा कार्यक्रम संचालित बाँकेका तीन वटा स्थानीय तहकाक १२ विद्यालयका फोकल शिक्षक, शिक्षक, सामाजिक परिचालकहरु तथा खजुरा गाउँपालिका शिक्षा शाखाका कर्मचारीहरूका लागि ४ दिन तालिम शुरु भएको छ ।

रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा आयोजना गरिएको चार दिने तालिम लैङ्गिक तथा जलवायु परिवर्तन पाठ्यक्रम सम्बन्धी रहेको छ । तालिमको उद्घाटन सत्र खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिकको प्रमुख आतिथ्यतामा भएको हो ।

उद्घाटन सत्रमा बोल्दै अध्यक्ष बिकले बालिका शिक्षा कार्यक्रम एक प्रभावकारी कार्यक्रम रहेको बताउनुभयाे । कार्यक्रमले बालिकाहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याएको बताउँदै कार्यक्रमलाई खजुरा गाउपालिकाले निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयाे ।

मधेशी, मुस्लिम समुदायका किशोरीमा आएको परिवर्तनले अभिभावकको समेत धारणा सकारात्मकरूपमा परिवर्तन भएको पाईएकाले गाउँपालिकाका १६ वटै माबिमा सञ्चालन गर्न प्रयास गर्ने उहाँको भनाई थियो । कार्यक्रम सञ्चालित पालिकाहरुलाई जलवायु मैत्री पालिकाको रुपमा अगाडी बढाउने गरी कार्य गर्नुपर्ने उहाँको जोड थियो ।

उद्घाटन सत्रमा तालिमको उद्देश्यमाथि प्रकाश पार्दै रुम टु रिड बालिका शिक्षा कार्यक्रमका सिनियर अधिकृत सुष्मा राईले कार्यक्रमलाई पालिकाहरुले आगामी शैक्षिक सत्रबाट कक्षा ७ मा शिक्षकमार्फत संचालन गर्ने योजना र निर्णय गरिए अनुरुप पूर्व तयारीका लागि तालिमको आयोजना गरिएको बताउनुभयाे । उहाँले चार दिनको तालिममा लैंङ्गिक तथा जलवायु परिवर्तन (पाठ्यक्रम) का बिषयबस्तुका बिषयमा बिस्तृत प्रशिक्षण हुने बताउनुभयाे ।

बालिका शिक्षा कार्यक्रम संयोजक हेमराज भट्टले सञ्चालन गरेको उद्घाटन सत्रमा स्वागत बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गर्नुभएकाे थियाे । तालिमको उद्घाटनमा खजुरा गाउँपालिकाका अध्यक्ष बिक, खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, रुम टु रिडका सिनियर फिल्ड कार्यक्रम प्रबन्धक खड्ग बहादुर कुवँर, सिनियर अधिकृत राई, एडमिन एण्ड फाईनान्स सहायक शिवराज आचार्य, कार्यक्रम अधिकृत निरोज कोइराला, बासका केन्द्रीय सचिव दिला शाह, कोषाध्यक्ष कल्पना अधिकारी, कार्यकारी निर्देशक शाह लगायतको उपस्थिति रहेको थियो ।

तालिमको सहजीकरण सामाजिक परिचालकहरुको सहयोगमा रुम टु रिडका वरिष्ठ कार्यक्रम अधिकृत राई र कार्यक्रम अधिकृत कोइरालाले गर्नुहुनेछ । तालिममा २९ जनाको सहभागिता रहको छ ।

Previous articleशिक्षक सङ्गठन बैजनाथद्वारा शुुभकामना आदानप्रदान
Next articleबाँकेकाे कम्दीमा सर्वाधिक पुरस्कार राशीकाे फुटबल प्रतियोगिता शुरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here