
नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकामा सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता शुरू भएको छ ।
प्रत्येक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको डुडवा गाउँपालिका वडा नं-५ स्थित नवदुर्गा युवा क्लब कम्दीले यस वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिएको हाे ।
प्रतियोगितालाई डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चाैधरीले उद्घाटन गर्नुभएको थियाे । चाैधरीले रेफ्रीलाई बल प्रदान गर्दै खेलकाे उद्घाटन गर्नुभएको थियाे ।
उद्घाटन शत्रमा बाेल्दै अध्यक्ष चाैधरीले प्रतियोगिता उत्साह ल्याएकाे भन्दै युवाहरूलाई खेल क्षेत्रमा उत्प्रेरित गर्ने बताउनुभयाे । लामाे समयदेखि यहाँका युवाहरूले गर्दै आएकाे कार्य अरूभन्दा उत्कृष्ट रहेकाे आफुले बुझेकाे बताउनुभयाे ।
शनिबार भएकाे उद्घाटन खेलमा आयोजक नवदुर्गा युवा क्लव ´ए` ले शक्ति युवा स्पोर्ट्स क्लबलाई ८-१ को गोल अन्तरले पराजित गरेको छ । खेलमा गोलको वर्षा नै भएको थियाे ।
आयोजकको तर्फबाट खेल सुरु भएको १० सेकेन्डमै गोल गर्न सफल दिपकराज सिंहले लगातार तीन गोल गर्दै प्रतियोगिताकै पहिलो ह्याट्रिक गर्न सफल हुनुभएको छ । खेलमा आयोजकको तर्फबाट भुपेन्द्र शाहीले ३ गोल, बिपिन थापा मगर र क्षितज थापा मगरले समान १/१ गोल गर्नुभएकाे थियाे ।
प्रतियोगिता उद्घाटनअघि क्लबका दिवंगत सदस्यहरूकाे फाेटाेमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियाे । प्रतियोगितामा आईतवार मध्यान्ह १:०० बजे हुने खेलमा छग्रहवा सामुदायिक वन समिति र लालिगुराँस युवा क्लबबिच प्रतिस्पर्धा हुने आयाेजकले जनाएको छ ।

प्रतियोगितामा यस पटक पुरस्कार राशीमा भारी बृद्धि गरिएको छ । आयोजकका अनुसार संस्थाले हालसम्म आयोजना गरेको प्रतियोगितामध्ये सबैभन्दा बढी पुरस्कार राशीको प्रतियोगिता यस पटक रहेकाे छ ।
क्लबका अध्यक्ष निर्मल चन्दले हरेक वर्ष यसखाले प्रतियोगिता आयोजना गर्दै आएको र यस वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिएको जानकारी दिनुभयो ।
सक्षम खेलाडी उत्पादन, डुडुवाका खेलाडीहरुलाई अवसर प्रदान गर्नु र लागू औषध दुव्र्यसनबाट युवाहरुलाई निरुत्साहित गरि समाजको विकासमा प्रेरित गर्नु क्लबकाे उद्देश्य रहेकाे छ ।
प्रतियोगिताको बिजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैयासहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपबिजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयासहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
यस्तै प्रतियोगितामा म्यान अफ द म्याच, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोेलरक्षकलाई आकर्षक पुरस्कार प्रदान गरिने जनाइएको छ । बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा असोज १८ गतेदेखि संचालन हुने भनिएकाे प्रतियोगिता प्राविधिक कारणले शनिबारदेखि शुरू भएकाे हाे ।
उद्घाटन कार्यक्रम डुडुवा गाउँपालिका वडा नं-५ का वडा अध्यक्ष झंक बहादुर थापा, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भाेजराज शाही, लुम्बिनी प्रदेश खेलकुद बिकास परिसद सदस्य जनक केसी, समाजसेवीद्वय बेलबहादुर बाेहरा, कृष्ण गिरी, पूर्व प्रहरी तथा साहित्यकार, लेखक विकास बाबू थापा लगायतकाे उपस्थिति रहेकाे थियाे ।






