
नेपालगञ्ज । कसौंधन वैश्य समाज युवा मञ्चले शनिबार नेपालगञ्जमा रक्तदान कार्यक्रम गरेको छ ।
नियमितरुपमा गर्दै आएको कार्यक्रम अन्तर्गत मञ्चले शनिबार नेपालगञ्जमा रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् ।
जसमा ५ जना महिलाले सहभागिता जनाएका छन् । सामाजिक उत्तरदायित्व बहन गर्न तथा अन्य सबैलाई रक्तदानतर्फ प्रेरित गर्न कार्यक्रमको आयोजना गरिएको युवा मञ्जका अध्यक्ष संजय कुमार वैश्यले जानकारी दिनुभयो ।
रक्तदान जीवनदान हुने र नियमित रक्तदानले व्यक्तिलाई स्वस्थ्य रहन सघाउने भएकाले रक्तदान गर्न आवश्यक रहेकोसमेत अध्यक्ष वैश्यले बताउनुभयो । समाजले वार्षिक रुपमा यसखालको कार्यक्रमका साथै अन्य सामाजिक कार्यहरु गर्दै आएको छ ।
भेरी अस्पताल परिसरमा रहेको क्षेत्रीय रक्तसंचार सेवा केन्द्रको भवनमा गरिएको कार्यक्रमको संयोजन सुजित कुमार कसौंधन (भोलु) ले गर्नुभएको थियो । रक्तदाताहरुलाई प्रेरित गर्न सहभागिहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा कसौंधन वैश्य समाज बाँकेका कार्यसमितिको सहभागितासमेत रहेको थियो । बाँकेमा रगतको अभाव निरन्तर भइनै रहन्छ ।
नेपालगञ्जका अस्पतालहरुमा उपचारका लागि आउने बिरामीहरु रगतको अभावमा भौंतारिनुपर्ने समस्या छ । सबै स्वस्थ व्यक्तिले ३३ महिनामा नियमितरुपमा रक्तदान गर्ने हो भने अभावलाई कम गर्न सकिने स्वास्थ्यकर्मीहरुको भनाई छ ।






