
काठमाण्डौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२० सिरिज ‘क्लिन स्विप’ गरेको छ । नेपालले टी-२० इतिहासमा कुनै पनि टोलीविरुद्ध पहिलो पटक सिरिज ‘क्लिन स्विप’ गरेको हो ।
सोमबार बिहान डालासस्थित ग्रान्ड प्रेरि क्रिकेट मैदानमा भएको अन्तिम तथा तेस्रो टी-२० मा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो । यसअघि नेपालले पहिलो टी-२० १७ रनले जित्दा दोस्रो टी २० सुपरओभरमा जित्न सफल भएको थियो ।
यो सँगै नेपालले विश्वकप लिग २ अघि बलियो आत्मविश्वास बनाउन सफल भएको छ । क्यानडा भ्रमणमा नेपाली टोली खराब प्रदर्शनका कारण महत्वपूर्ण अङ्कहरु गुमाउन बाध्य भएको थियो ।
अब नेपालले आगामी २५ अक्टोबरबाट सुरु हुने विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा सक्टल्यान्ड र अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । नेपालले २७ अक्टोबरमा अमेरिकासँग पहिलो खेल खेल्ने छ ।
अन्तिम टी-२० मा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । अमेरिकाका लागि सैतेजा मुकामलाले ६८ रन बनाउँदा मिलिन्डा कुमारले ४३ रन बनाउनुभयो ।
त्यस्तै एरोन जोनेसले १३ रन तथा हर्मित सिंहले १० रन बनाउनुभएको थियो । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिनुभएको थियो । जवाफमा १ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले उक्त लक्ष्य १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको सहज जितमा आसिफ शेखले ५० रनको अर्धशतकीय इनिङ खेल्दा कुशल मल्ल ४४ रनमा अविजित रहनुभयो भने उहाँलाई कुशल भुर्तेलले ४० रन बनाएर अविजित साथ दिनुभएको थियो ।
त्यसअघि ओपनर अनिल साह १३ रनमा आउट हुनभयो । अमेरिकाका लागि जुनायो ड्रयसडाली र जसदिप सिंहले समान १-१ विकेट लिनुभयो । देशसञ्चारबाट





