शिक्षा योजना निर्माणका लागि मधुवनमा दई दिने कार्यशाला

बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा नगरस्तरीय शिक्षा योजना निर्माणका लागि दई दिने कार्यशाला सम्पन्न गरिएको छ ।

बालविवाह न्यूनिकरण परियोजनाअन्तर्गत प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणीय विशिष्‍टता समूह (बिग्रुप) र बाँके युनेस्को क्लबको साझेदारीमा मधुवन नगरपालिकाले कार्यशालाको आयोजना गरेको हो ।

स्थानीय तहको नीति तथा कार्ययोजना निर्माणमा सहयोग गर्ने परियोजनाको उद्देश्यअनुरूप विद्यालय तथा विद्यालयको शिक्षामा सुधार ल्याइ प्रभावकारी शिक्षण बनाउँदै विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्नका लागि कार्यशालाको आयोजना गरिएको बालविवाह न्यूनिकरण परियोजनाका शिक्षा संयोजक लक्ष्मीप्रसाद शर्माले जानकारी दिनुभयो ।

समाजमा विद्यमान वाल विवाह, लागुऔषधको प्रयोग जस्ता समस्या तथा समुदायमा थालिने विभिन्न अभियानहरूलाई सफल बनाउन शिक्षाले महत्वपूर्ण भूमिका खेल्छ, शर्र्माले भन्नुभयो, शैक्षिक क्षेत्रमा योजनाबद्धरुपमा सुधार गर्दे लैजानु आजको आवश्यकता रहेको बताउँदै शिक्षाबिना समाज सुधार हुन सक्दैन भन्ने परियोजनाको बुझाइ छ ।

मधुवन नगरपालिकाका प्रमुख, उपप्रमुख, ९ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, क्याम्पस प्रमुख, विद्यालयका प्रधानाध्यापक, शिक्षासँग सम्बन्धित विभिन्न व्यक्तित्वहरू सम्मिलित कार्यशालाको बृहत् छलफलबाट मस्यौदाको रुपमा तयार पारिएको योजनालाई पूर्णता प्रदान गरी कार्यपालिकामा पेस गरिने मधुवन नगरपालिकाका शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनालले बताउनुभयो ।

तथ्यको आधारमा मस्यौदाको रुपमा तयार पारिएको शैक्षिक योजनालाई पूर्णता दिन एउटा समिति निर्माण गरिने छ । समितिले तयार पारी बुझाएको अन्तिम मस्यौदामाथि पुनः समिक्षा गरी कार्यपालिकाको बैठकमा पेस गरिने प्रमुख खनालले बताउनुभयो । कार्य योजना निर्माण भएपछि शिक्षा नीति बनाउनसमेत सहज हुने खनालको तर्क छ ।

यसरी समितिले पेस गरेको अन्तिम मस्यौदा शाखामार्फत कार्यपालिका बैठकमा पेस भएपश्चात कार्यपालिका बैठक तथा गाउँ सभाबाट पास गरी पालिकाले पूर्णता दिएर प्राथमिकताका आधारमा कार्यान्वयनको चरणमा लैजाने मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटले बताउनुभयो ।

कार्यशालाको सहजीकरण शिक्षाविद् जितबहादुर शाहले गर्नुभएको थियो ।

Previous articleतारे होटलमा प्लास्टिकजन्य बोतलसहितका पेय पदार्थ बिक्रीमा रोक
Next articleअतिक्रमित संरचना हटाउन उपमहानगरको निर्देशन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here