फोहोर व्यवस्थापनका लागि सरोकारवालासँग सार्वजनिक संवाद

नेपालगञ्ज । नेपालगञ्जको फोहोर व्यवस्थापनका लागि स्थानीय सरकार प्रमुख तथा सरोकारवालालाई ध्यानाकर्षण गराइएको छ ।

शहरको समस्यासँगै चुनौती बन्दै गएको फोहोर व्यवस्थापनमा हालसम्म भएका कमि कमजोरीका बिषयमा सरोकारवालाहरुलाई ध्यानाकर्षण गराइएको हो । फोहोर व्यवस्थापनका लागि ध्यानाकर्षण गराउनुअघि नेपालगञ्ज बजारमा सचेतनामूलक र्याली निकालिएको थियो ।

नेपालगञ्जको त्रिवेणीमोडदेखि शुरु भएको र्याली त्रिभुवन चोक, बीपी चोक, बिटिएस चोक हुँदै भेरी प्राविधिक शिक्षालयमा गएर सभामा परिणत भएको थियो । सभामार्फत नै नेपालगञ्जको फोहोर व्यवस्थापनसँग सम्बन्धित स्थानीय सरकार तथा अन्यलाई ध्यानाकर्षण गराइएको थियो । भेरी वातावरणीय बिशिष्टता समूह (बिग्रुप)ले एमडिएम फ्रान्सको आर्थिक सहयोगमा नेपालगञ्जमा संचालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत सो कार्यक्रम गरिएको हो ।

फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल्ड साईड निर्माण गरिएको भएपनि त्यसको व्यवस्थापन तथा संचालन, भएका मंहगा संरचनाहरुको संचालन तथा बेवास्ता, यहाँका विभिन्न क्षेत्रहरुबाट दैनिक रुपमा निस्कने फोहोरको संकलन, व्यवस्थापनको प्रक्रिया, यसको व्यवस्थापनमा स्थानीय सरकारले गरिरहेको खर्चको उपलब्धी जस्ता विषयमा ध्यानाकर्षण गराइएको थियो ।

सभालाई सम्बोधन गर्दै नेपालगञ्जका नगर प्रमुख प्रशान्त बिष्टले नेपालगञ्जको फोहोर व्यवस्थापन एक्लै सम्भव नरहेकोले यसका लागि स्थानीय सचेत हुनुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकारका तर्फबाट करोडौं रकम वर्षेनी खर्च भएपनि स्थानीयको साझेदारी नहुँदा व्यवस्थापनमा चुनौती रहेकाले उहाँहरुको सहभागिता अनिवार्य भए सम्भव हुने बताउनुभयो ।

बिग्रुपका अध्यक्ष डा.इन्द्र बहादुर भण्डारीको अध्यक्षतामा भएको सो सभामा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१२ का वडा अध्यक्ष तरुण बज्राचार्य, भेरी अस्पतालका डा.राहुल कुर्मी, उपमहानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसी, नागरिक अगुवा प्रकाश उपाध्याय, हरित अभियान्ता हेमन्तराज काफ्ले, नेपालगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरिन्जवी ओलीले फोहोर व्यवस्थापनका सवालमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा बोल्नुभएको थियो ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नं-२० वडाअध्यक्ष कौशलकुमार धोवी, डुडुवा गाउँपालिका वडा नं-६ का मोहनराम मिश्रालगायतको उपस्थिति रहेको सो सभामार्फत सरसफाईका क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । शुरुमा सचेतनामूलक नाटक प्रस्तुत गरि शुरु गरिएको कार्यक्रममा सरसफाईका क्षेत्रमा कार्यरत कर्मचारी तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

Previous articleअतिक्रमित संरचना हटाउन उपमहानगरको निर्देशन
Next articleलुम्बिनी सरकारमा तीन मन्त्री थप, आजैबाट लिए जिम्मेवारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here