५२ वटा विपन्न परिवारलाई घर बनाइदिँदै

राप्ती सोनारी ।आर्थिक स्थिति कमजोर भएका सर्वसाधारण नागरिकका लागि बाँकेको राप्ती सोनारी गाउँपालिकाले घर बनाइदिन थालेपछि त्यस्ता समुदायका नागरिकहरुले नयाँ घर पाउने भएका छन् ।

विशेष अनुदान अन्तर्गत राप्तीसोनारी गाउँपालिकाले विपन्न आवास कार्यक्रममार्फत् लक्षित समुदायको छनौट गरी उनीहरुलाई नयाँ घर बनाइदिन सुरु गरेको हो ।

आर्थिकरूपले विपन्न समुदायका मानिसहरूलाई नयाँ घर बनाइदिएर जेठ मसान्तभित्र हस्तान्तरण गर्ने कार्यक्रम छ । राप्तीसोनारी गाउँपालिका वडा नं ८ धरमोतीकी गंगा विकलाई नयाँ घर पाउने भएपछि खुसीको सीमा छैन ।

उहाँको परिवार अहिले धरमोतीमा कोठा भाडामा लिएर बस्दै आएको छ । टिनको छानो भएको तर सिमेन्टको खम्बा ठड्याएको दुई कोठाको घरमा बस्न पाउने भएपछि गंगाको मुहारमा छुट्दै खुसी झल्किन्थ्यो । गाउँपालिकाले दुई कोठे पककी घर बनाइदिने भएपछि उहाँले वर्षौदेखि अर्कैको घरमा कोठा भाडामा लिएर बस्नु पर्ने बाध्यताको अन्त्य हुनेछ ।

‘सम्पतीको नाममा १२ धुर जग्गा छ । सासु आमा क्यान्सर पीडित हुनुहुन्छ । श्रीमानको मजदुरीले साँझ विहानको जोहो टरेको छ उहाँले अगाडी भन्नुभयाे-‘भाडामा बस्दा कोठा विजुली वत्ती गरेर महिनाको दुई हजार खर्च हुन्छ । आफ्नै घर हुने भएपछि त्यो दुई हजार पनि बचत हुने भयो । आफ्नै घरमा बस्ने सपना पनि पूरा हुने भयो ।’

गंगा जस्तै घर नभएर अरुको घरमा बस्नुपर्ने बाध्यता भएका परिवार र साँघुरो, होचो, फुसको छानो अनि बाँसको बेरा भएको घरमा बस्दै आएका विपन्न समुदायलाई प्राथमिकतामा राखेर पालिकाले घर बनाइदिन थालेको गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले बताउनुभयाे ।

गंगा विकको घरको शिलान्यस गर्दै गाउँपालिकाका अध्यक्ष पौडेलले पालिकामा विपन्न आवास कार्यक्रम सुरु भएको बताउनुभयाे । उहाँले संबिधानप्रदत आवास पाउनुपर्ने नागरिकको हकलाई पालिकाले कार्यान्वयन गरेको बताउनुभयाे ।

चालु आर्थिक वर्षमा गंगा विकलाई जस्तै ५२ वटा घर गाउँपालिकाले बनाइदिन थालेको अध्यक्ष पौडेलले बताउनुभयाे । उहाँले भन्नुभयाे-‘यो वर्ष हामीले ५२ वटा घर बनाउँदैछौं । यो हाम्रो आफ्नै कार्यक्रम हो तर केन्द्र सरकारको सहयोग छ ।’

विपन्न र आयस्तर कमजोर भएका परिवारको पहिचान गरेर विपन्न आवास कार्यक्रम कार्यान्वयनमा ल्याइएको उहाँले बताउनुभयाे । नयाँ घर पाउनेहरुमा आदिवासी, दलित तथा पिछडिएका समुदायका परिवारहरु रहेको गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले बताउनुभयाे ।

उहाँले घरहरु गुणस्तरीय र भरपर्दो बनाउन निर्माणको जिम्मा पाएका ठेकेदारलाई निर्देशन समेत दिनुभयाे । गाउँपालिकाका असिस्टेन्ट प्राविधिक दुर्गा केसीले चालू आर्थिक वर्षमा ९ वटै वडामा ५२ वटा घर बनाउन लागिएको बताउनुभयाे ।

उहाँले विशेष अनुदानको २ करोड ८० लाखको लागतमा घरहरु निर्माण गरिने बताउनुभयाे । एउटा घरको लागत ५ लाख ३७ हजार ५५५ रुपैयाँ रहेको उहाँले जानकारी दिनुभयाे । त्यसमा ब्रण्डा, दुई वटा पक्की कोठा र छानो जस्ता पाताको हुनेछ ।

शौचालय पनि त्यसैबाट निर्माण गरिनेछ । तर शौचालयको सेफ्टी ट्यांकी भने घरधनीले बनाउनुपर्ने उहाँले बताउनुभयाे । आगामी जेठ मसान्तभित्र सम्पन्न गर्ने गरी भवर भवानी निर्माण सेवा र सौगात कन्ट्रक्सन ठाकुरबाबा बर्दियाले घर निर्माणको ठेक्का लिएका छन् ।

भवर भवानीले २१ वटा र सौगातले ३१ वटा घर बनाउनेछन् । सौगातले वडा नं.३, ४, ५, ६ र ७ मा ३१ वटा र भवरभवानीले वडा नं.१, २, ८ र ९ मा २१ वटा घर बनाउने सम्झौता छ ।

भवर भवानी निर्माण सेवाका संचालक सुरेन्द्र पौडेलले सम्झौता अवधिमै घरहरु निर्माण गरेर हस्तान्तरण गरिने प्रतिवद्धता जनाउनुभयाे । उहाँले भन्नुभयाे- ‘गाउँपालिकासँग भएको सम्झौताअनुसार निर्माण सकेर जेठ मसान्तभित्र सबै घर हस्तान्तरण गछौं । गुणस्तरीयतामा कुनै सम्झौता हुदैन् ।’

Previous articleसार्वजनिक स्थानमा फोहोर फाल्नेलाई जरिवाना
Next articleमंगल प्रसाद माबिका विद्यार्थीले हेरे पुर्ण बहादुरको सारङ्गी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here