अस्ट्रेलियामा १६ वर्ष मुनिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

काठमाण्डौं । अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाएको छ ।

बालबालिकालाई सम्भावित जोखिमबाट जोगाउन १६ वर्षमुनिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने विधेयक बिहीबार सिनेटले अनुमोदन गरेको छ ।

सबै प्रमुख दलले विधेयकको पक्षमा मतदान गरेका थिए । सो विधेयक तल्लो सदनबाट बुधबार पास भएको थियो ।

यो प्रतिबन्ध कसरी लागू हुन्छ र कुन कुन सामाजिक सञ्जालका हकमा लागू हुन्छ भन्ने कुरा अझै प्रस्ट भइनसकेको भनेर द न्यूयोर्क टाइम्सले लेखेको छ ।

सो विधेयक पास भएपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री एन्थोनी अल्बनिजीले यसले अस्ट्रेलियालाई बालबालिकाको मानसिक स्वास्थ्य र हितको संरक्षण गर्ने मामिलामा विश्वको अग्रपंक्तिमा पुर्‍याएको बताउनुभयो ।

उहाँका अनुसार यो कानुनले १६ वर्षमुनिकालाई सामाजिक सञ्जालमा अकाउन्ट खोल्नबाट रोक्न यथोचित कदम चाल्ने दायित्व सामाजिक सञ्जाल चलाउने कम्पनीमाथि पर्नेछ ।

१६ वर्षमुनिकालाई रोक्न लगातार असफल भएका कम्पनीलाई अस्ट्रेलियन डलर चार करोड ९५ लाखसम्म जरिवाना लगाउन मिल्नेछ ।

कानुन विपरीत १६ वर्षमुनिका सामाजिक सञ्जाल चलाउने बालबालिका वा उनीहरूका आमाबुबालाई भने कुनै सजाय हुने छैन ।

‘हामीलाई थाहा छ केही केटाकेटीले चलाउने उपाय भेट्नेछन्। तर हामीले सामाजिक सञ्जाल कम्पनीहरूलाई प्रस्ट सन्देश दिएका छौं,’ उहाँले केही समयअघि भन्नुभएको थियो ।

यो कानुनले खाता खोल्ने बेलामा प्रयोगकर्ताको उमेर यकिन गर्न सरकारी कागजात माग गर्न निषेध गरेकाले कम्पनीहरूलाई बालबालिकालाई रोक्न भने मुस्किल पर्नेछ ।

अल्बनिजीले स्न्यापच्याट, टिकटक, इन्स्टाग्राम र एक्स (ट्विटर) लाई प्रतिबन्ध लाग्ने भनेका छन् । युट्युब र ह्वाटसएप लगायत मेसेजिङ एपका हकमा भने कानुन नलाग्ने अनुमान छ ।

फ्रान्सले गत वर्ष १५ वर्षमुनिकालाई सामाजिक सञ्जाल चलाउन आमाबुबाको सहमति चाहिने कानुन ल्याएको थियो । उसले यस्तो खाले कानुन पूरै युरोपियन युनियनभरि लगाउनुपर्ने माग उठाउँदै आएको छ । तर अस्ट्रेलियाले ल्याएको कानुन फ्रान्सको भन्दा कडा छ ।

यो कानुन ल्याउने जग भने साउथ अस्ट्रेलियाको प्रमुख पिटर मेलनास्कसकी श्रीमतीले यो वर्ष अमेरिकी सामाजिक मनोचिकित्सक जोनाथन हैटले लेखेको ‘द एन्सियस जेनेरेसन’ भन्ने पुस्तक पढेपछि भएको भनेर रोयटर्सले लेखेको छ ।

अस्ट्रेलियाको दुई करोड ७० लाखमध्ये ७ प्रतिशत मात्रै जनसंख्या भएको मेलनास्कसको साउथ अस्ट्रेलियाले बालबालिकालाई सामाजिक सञ्जाल चलाउन रोक लगाएको ६ महिनामै सारा देशभरि प्रतिबन्ध लागेको छ ।

(अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)

Previous articleबैकुण्ठधाम आध्यात्मिक महोत्सवको आम्दानी खर्च विवरण सार्वजनिक
Next articleसद्भावका लागि नेपालगञ्जमा गोलमेच बैठक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here