
नेपालगञ्ज । सबै धर्मको सम्मानले धार्मिक सद्भाव कायम हुने भएकाले हरेकले धार्मिक सहिष्णुताका लागि आआफ्नो तर्फबाट काम गर्ने सामुहिक प्रतिबद्धता जनाएका छन् ।
युएसएआईडी/द एसिया फाउण्डेसनद्धारा सञ्चालित नागरिक समाज र मिडिया परियोजनाको सहकार्यमा नाइस नेपालगञ्जले सामाजिक सद्भावका लागि सँगै परियोजना अन्तर्गत शुक्रबार नेपालगञ्जमा भएको सरोकारवालाहरुबिचको गोलमेच बैठकमा सहभागिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
धार्मिक सद्भावका सवालमा सरोकारवालाहरुबिच छलफल पश्चात धार्मिक सद्भावका बिषयमा सबै धर्मलाई सम्मान (हामी सबै भाईभाई) को सन्देश प्रवाहकालागि सक्रिय रहने, सामाजिक सद्भावमा सामाजिक सञ्जालको भूमिका महत्वपूर्ण हुने भएकाले सामाजिक सद्भाव झल्किने सन्देश सामाजिक सञ्जाल मार्फत बाहिर ल्याउने, सद्भावका बिषयमा अभिभावक सचेतनाकालागि आआफ्नो तर्फबाट काम गर्ने, धार्मिक क्षेत्रलाई अपांगता मैत्री बनाउन पहल गर्ने प्रतिबद्धता गरिएको छ ।
बागेश्वरी मन्दिरका मुल महन्त चन्द्रनाथ योगीले धार्मिक सद्भावले समाज र राष्टलाई बलियो बनाउने भन्दै सबैले आ आफ्नो तर्फबाट धार्मिक सद्भावमा काम गर्न अनुरोध गर्नुभयो । एक अर्काबिचको सम्मानले धार्मिक सहिष्णुता कायम हुने उहाँको भनाई थियो । उहाँले बागेश्वरी मन्दिरलाई धार्मिक सद्भावको नमूनाको रुपमा बनाउन लागि पर्ने प्रतिबद्धता गर्नुभयो ।
मुस्लिम अगुवा जियाउल मुस्तफाले हरेक धर्मले सम्मान र ईमानदार बन्न सिकाएको बताउनुभयो । यसैगरी बौद्ध धर्मका धर्मगुरु गुन बहादुर लामाले बौद्ध धर्मले सबै धर्मलाई सम्मान गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा नेपालगञ्ज वडा नं.-९ का अध्यक्ष गोबिन्द रेग्मी, २१ का अध्यक्ष राज कुमार शाहू, नेपालगञ्ज उपमहानगरपालिकाका उपसचिव तथा युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख गोर्ख बहादुर थापा, प्रहरी निरिक्षक शिवा थापा लगायतले बोल्नुभएको थियो ।





