
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले कोहलपुर क्षेत्रमा कार्यरत गैरसरकारी संघ संस्थाहरुसंगको संस्थागत सहकार्यलाई प्रभावकारी बनाउँदै लैजाने भएको छ ।
कोहलपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सामाजिक विकास समितिले सोमबार कोहलपुर नगरपालिकाको सभाहलमा कोहलपुर क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था राखेको समन्वयात्मक बैठकमा नगरपालिकाले संस्थागत सहकार्यलाई प्रभावकारी बनाउदै लैजाने सन्देश दिएको हो ।
‘कोहलपुर नगरपालिका कार्यक्षेत्र भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुबीच संवादको थालनी गर्दै पालिकामा साझेदार संस्थाहरुको साझेदारीका लागि साझा पहल गर्ने प्रयास प्रारम्भ भएको छ कार्यक्रमका फोकल पर्सनसमेत रहेका रोजगार शाखा प्रमुख आशिष बर्माले भन्नुभयो,–‘अब एनजीओ आइएनजियोसंग मिलेर कोहलपुर नगरपालिका सामाजिक मुद्दामा पैरवी गर्ने योजनामा छ ।’
संस्थाको कार्यक्रमले कोहलपुरको कुन क्षेत्रमा कसरी योगदान दिरहेको छ त्यसको समेत खोजी गर्न सुरु गरेको फोकल पर्सन बर्माले बताउनुभयो । ‘जसले गर्दा डुप्लिकेशन नहोस् भन्ने पनि हो,’– बर्माले भन्नुभयो ।
संस्थासंगको समन्वय अभावका कारण उस्तै प्रकृतिका कार्यक्रम एउटै ठाउँमा संचालन हुँदा त्यसले सकारात्मक सन्देश नजाने नगरपालिकाको बुझाइ छ । समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले गैरसरकारी संस्थाको बजेटलाई अब एकद्वार प्रणाली कायम गर्न जरुरी भएको बताउनुभयो ।
गैरसरकारी संघ संस्थासंगको समन्वय र सहकार्य अत्यन्तै जरुरी रहेको बताउँदै उहाँले बजेटमा एकद्वार प्रणाली कायम गर्न सकियो भने कार्यक्रममा हुने दोहोरोपन हट्ने बताउनुभयो । सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद बिकको अध्यक्षतामा भएको बैठकमा विभिन्न संघसंस्थाहरुले आ-आफ्नो संस्थाले गर्दै आएको कामहरुको बारेमा जानकारी गराएका थिए ।
वडा नम्बर १० का वडा अध्यक्ष गौरा भट्टराई, कार्यपालिका सदस्य भुप बहादुर दर्जी लगायतको सहभागिता रहेको कार्यक्रमलाई सामाजिक विकास तथा दर्ता शाखा प्रमुख वीरबहादुर बिकले सहजीकरण गर्नुभएको थियो ।





