
कैलाली । चितुवाको छाला र हड्डीसहित ३ जना पक्राउ परेका छन् । शुक्रबार बिहान प्रहरीले गोदावरी नगरपालिका वडा नम्बर २ स्थित मिट प्वाइन्ट होटलबाट उनीहरूलाई पक्राउ गरेको हो ।
चितुवाको छाला र हड्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उक्त होटलबाट डोटीको जोरायल गाउँपालिका वडा नम्बर ४ बस्ने ३१ वर्षीय किरण पुनलाई पक्राउ गरेको थियो ।
पुनको साथबाट चितुवाको छाला १ थान र हड्डी २ थान फेला पारी बरामद गरी अनुसन्धानको क्रममा घटनामा संलग्न डोटीकै आदर्श गाउँपालिका वडा नम्बर ५ लामीखालका ३५ वर्षीय वीरबहादुर धामी र २२ वर्षीय योगेन्द्र धामीलाई पनि पक्राउ गरिएको कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताउनुभयो।
उनीहरूलाई आवश्यक कारबाहीका लागि चितुवाको छाला र हड्डीसहित डिभिजन वन कार्यालय धनगढीमा पठाइएको डिएसपी विष्टले जानकारी दिनुभयो ।





