
राजापुर । राजापुर नगरपालिकाको वडा न ६ मा पर्ने जमुनाबोझी गाउँलाई सरसफाई उन्मुख क्षेत्र घोेषणा गरिएको छ । सरसफाई कार्यक्रमको निरन्तरता दिँदै आएको यस वडाको जमुनाबोझी गाउँ सरसफाई उन्मुख क्षेत्र घोषणा भएको हो ।
प्रदेश सांसद दिवेश थारु, राजापुर नगरपालिकाकाका मेयर शिव प्रसाद थारु र उपमेयर मनकला कुमारी चौधरीले गाउँलाई सरसफाई उन्मुख क्षेत्र घोषणा गर्नुभएको छ । यस गाउँलाई घोषणा गर्नका लागि अढाई महिना अघिदेखि तयारी शुरु गरिएको थियो ।
एक वर्षअघि देखि नै सरसफाईको कार्यक्रममा जोड गरिएको र सरसफाई उन्मुख क्षेत्रका रुपमा जमुनाबोझी गाउँलाई घोषणा गर्न सफल भएको वडा अध्यक्ष महेश चौधरीले जानकारी दिनुभयो । यसअघि गेरुवा ग्रामीण जागरण संघको सहयोगमा वडाले छोटकीभउँरा, श्रीपुर गाउँलाई सरसफाई उन्मुख क्षेत्र घोषणा गरिसकेको छ ।
यो गाउँमा ७३ घरधुरी रहेका छन् । सबैको घरमा पूर्ण सरसफाईका सूचकहरु पुरा भएका छन् । वडा अध्यक्ष चौधरीका अनुसार यसका सथौ वडाको महादेवली, माहु, मानपुर लगायतका गाउँ, टोललाई सरसफाई उन्मुख क्षेत्र घोषणा गर्ने चरणमा रहेका छन् ।
यस वडालाई सरसफाई उन्मुख क्षेत्र घोषणा गर्नका लागि बिगतमा प्लान नेपालको आर्थिक सहयोगमा गेरुवा, आई डि एस नेपाल लगायतले सहयोग गरिरहेको वडा अध्यक्ष चौधरीले बताउनुभयो ।
नेपाल सरकारले जारी गरेको पूर्ण सरसफाई मार्गदर्शन २०७३ मा सन् २०३० सम्म सबैको लागि र सधैको लागि पूर्ण सरसफाइको अवस्था हासिल गर्नेतर्फ उन्मुख हुने उल्लेख छ ।
सरसफाई मार्गदर्शनका अनुसार योजना तर्जुमा तथा व्यवस्थापन, चर्पीको समुचित प्रयोग, व्यक्तिगत सरसफाई, सुरक्षित पानीमा पहुँच तथा प्रयोग, सुरक्षित खानाको प्रयोग, घरायसी एवं संस्थागत सरसफाई र वातावरणीय सरसफाई गरी सात वटा सूचकभित्रका सहायक सूचकहरु पुरा भएपछि कुनै क्षेत्रलाई सफा र स्वच्छ क्षेत्र भनी स्व–घोषणा वा प्रमाणीकरण सकिने छ ।





