स्वदेशमा रोजगारी प्राप्त गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा युवाको जोड

नेपालगन्ज । नेपाल रिपब्लिक मिडियाले नेपालगन्जमा आयोजना गरेको ‘म नागरिक म बनाउँछु नेपाल’ विषयक कार्यक्रमका वक्ताहरूले युवाका लागि स्वदेशमै प्रशस्त सम्भावना रहेको बताएका छन् । वक्ताहरूले युवाका लागि सम्भावनाको ढोका उघार्न स्वदेशमै उपयुक्त शिक्षा हासिल गर्ने र रोजगारी प्राप्त गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

त्यसका लागि राज्यको नीति, शिक्षा प्रणालीको परिवर्तन गर्नुपर्ने सुझाव उनीहरूले दिए । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालमा अब विद्यार्थीलाई पढाइसँगसँगै रोजगारीका अवसर पनि सिर्जना गरिनुपर्ने आवश्यकता औंल्याउनुभयो । अधिकांश विद्यार्थी रोजगारीको अवसर खोज्दै देशबाहिर जानु परिरहेको यथार्थ औंल्याउँदै नेपालमै अब पढाइसँगै रोजगारीको अवसर प्रदान गर्नुपर्ने धारणा राख्नुभयो ।

यसका लागि नेपालको शिक्षा नीति, शिक्षा प्रणाली र पाठ्यक्रमलाई परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ । ‘नेपालको शिक्षा नीतिमा नै त्रुटि रहेजस्तो लाग्छ मलाई । विदेशमा जस्तो पढ्ने पनि काम गर्ने पनि प्रणाली नेपालमा पनि लागु गर्नुपर्छ,’ प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका कोइरालाले भन्नुभयो, ‘एजुकेसनलाई पढाइ र गराइमा समन्वय गरिएन भने अप्ठ्यारो अवस्था आउँछ । शिक्षाको नीति र पाठ्यक्रम परिवर्तन गर्नुपर्ने हुन्छ।’

शिक्षा नीति र पाठ्यक्रमलाई परिवर्तन गरेर पढाइसँगै रोजगारीलाई अगाडि बढाउन सके धेरै नेपाली विद्यार्थी विदेश जानबाट रोकिने उहाँको विश्वास छ। अबको १० वर्षसम्म देशमा धेरै कुराको विकास हुने सम्भावना देखिएको बताउनुभयो । ‘अबको १० वर्षमा हामीले २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएका छौं । हामी सक्छौं भन्ने अठोटका साथ काम गर्नुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो ।

नेपालमा पर्यटन, कृषि, प्रविधिलगायत धेरै कुराले फड्को मार्ने अवस्था रहेकाले युवा जनशक्तिलाई अवसरै अवसर रहेको उहाँको भनाइ थियो । ‘हाम्रै छिमेकी देशमा महाकुम्भ चलिरहेको छ । धार्मिक पर्यटनबाट फाइदा हुन्छ भनेर हामीले बताउन सकेका छैनौं,’ उहाँले भन्नुभयो । नेपालमा पनि धार्मिकसँगै पर्यटनका अन्य क्षेत्रलाई स्थापित गर्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रविधिको प्रयोगबाट नेपालीहरूले राम्रो आम्दानी गरिरहेको औल्याउँदै नेता कोइरालाले भन्नुभयो, ‘के हामीले नेपालगन्जमा बसेर त्यो काम गर्न सक्दैनौं र ?’
राजनीतिकर्मीका कमी कमजोरीका कारण युवा पिँढीले उनीहरूलाई विश्वास गर्न नसकेको उहाँले बताउनुभयो । ‘हामी राजनीतिकर्मीका कमीकमजोरी पनि छन् । हामीले आशा जगाउन सकेका छैनौं । हामी जनता, युवा, विद्यार्थी, नागरिकप्रति जवाफदेही, उत्तरदायी, पारदर्शी छैनौं । त्यसैले सुशासन छैन भनेर तपाईंहरूले भनिरहनुभएको छ, म स्विकार्छु । अब हामीले बनाउनुपर्‍यो, गर्नुपर्‍यो ।’

चारैतिर लथालिंग स्थितिमा रहेको अवस्थामा देशलाई बनाउने जिम्मा युवाहरूको हातमा रहेको डा.कोइरालाले जोड दिनुभयो । ‘तपाईंहरूजस्ता युवाको बलमा देश बनाउने हो । तपाईंहरू नै देश छाडेर जानुभयो भने देश कसले बनाउने ? यी सबै कुरालाई हामीले नीतिमा परिवर्तन गर्नुपर्छ । राजनीतिज्ञमा परिवर्तन आउनुपर्छ । हामीमा परिवर्तन आउनुपर्छ । तपाईंहरूमा परिवर्तन आउनुपर्छ,’ उहाँले भन्नुभयो ।

‘म नागरिक म बनाउँछु नेपाल’ भन्ने सोच सबैमा जाग्नुपर्ने उहाँले जोड दिनुभयो । नेपालको शिक्षा नीति र पाठ्यक्रम परिवर्तन गरेर लाग्न सकियो भने देश बनाउन सकिनेमा आफूलाई विश्वास लागेको उहाँले बताउनुभयो । देशमा सुशासन कमजोर भएपछि त्यसले समग्र रूपमा देशलाई नै गलत बाटोमा लैजाने उहाँको चिन्ता छ ।

‘सुशासनलाई ठिक ठाउँमा ल्याउने प्रयास गर्दैछौं । तपाईंहरूको कोसिसले सुशासन एक दिन आउँछ । तपाईंहरू नै यो देशको भविष्य हुनुहुन्छ भन्ने हामीले बुझेका छौं । तपाईंहरूलाई विश्वास दिलाउन हामीले सुशासन दिन्छौं भन्ने हो,’ डा.कोइरालाले भन्नुभयो, ‘तपाईंहरूले जति कुरा गरिरहनुभएको छ। त्यो सुशासनभित्र धेरै कुरा आइरहेको हुन्छ । तपाईंहरूलाई विनम्रतापूर्वक आग्रह छ– तपाईहरू उद्यमशील बन्नतिर लाग्नुपर्‍यो, सरकारले त्यसका लागि रकम दिनुपर्‍यो । युवा स्वरोजगार भनेको छ तर पैसा दिएको छैन, यसरी देश अगाडि बढ्दैन।’

नेपाल रिपब्लिक मिडियाकी प्रबन्ध निर्देशक समृद्धि ज्ञवालीले देश बनाउने जिम्मेवारी युवाको काँधमा रहेको बताउनुभयो । ‘यो देश तपाईं–हामी युवाले नै बनाउने हो,’ उहाँले भन्नुभयो, ‘हामी युवाले नै देश नबनाए कसले बनाउने ?’ राज्यले युवा जनशक्तिलाई स्वदेशमै रहने गरी नीति बनाउनुपर्नेमा उहाँको जोड थियो । आफू स्नातकोत्तर तह अध्ययनका सिलसिलामा केही वर्ष विदेश जानुपरेको अनुभव उहाँले सुनाउनुभयो ।

‘म अध्ययनका लागि मात्रै विदेश गएकी थिएँ । अध्ययन सकेपछि तुरुन्तै फर्किएँ । नेपालमै केही गर्नुपर्छ, नेपाल बनाउनुपर्छ भनेर म फर्किएकी हुँ,’ उहाँले भन्नुभयो । नेपालमा पनि सिप र क्षमताअनुसार रोजगारी पाउने प्रशस्त सम्भावना रहेको प्रबन्ध निर्देशक ज्ञवालीले बताउनुभयो । आजका युवाले कसैलाई गाली गरेर समय खेर फाल्नुभन्दा पनि आफूले केही गरेर देखाउनुपर्ने धारणा उहाँले राख्नुभयो ।

अर्को प्रसंगमा ज्ञवालीले विश्वमा जलवायु परिवर्तनमा देखिएको असरको सामना नेपालले पनि गरिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । जलवायु परिवर्तनको असर एकदमै खतरनाक तरिकाले अगाडि बढिरहेको छ,’ उहाँले भन्नुभयो, ‘जलवायु विपद्का कारण नेपाल अप्ठ्यारो अवस्थामा छ ।’ महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले नेपालमै सम्भावना देखेर उत्साहका साथ गाउँदेखि सहरसम्मका महिला उद्यमशील बनिरहेको बताउनुभयो ।

महिलाहरू ससाना उद्योग चलाएर आत्मनिर्भर बनिरहेको सुनाउँदै उहाँले भन्नुभयो, ‘जनघनत्वका हिसाबले महिलाहरूले अवसर त्यति पाएका त छैनन् तर सम्भावना यो देशमा एकदमै धेरै छ । महिला दिदीबहिनीले आ–आफ्नो क्षेत्रमा एकदमै राम्रोसँग आफ्नो उद्यमलाई अगाडि बढाएका छन् ।’ महिला उद्यमीका लागि पनि आवश्यक नीति चाहिएको उहाँको जोड छ ।

‘उहाँहरू हामी (महिला उद्यमी) लाई वित्तीय पहुँच चाहिएको छ, हामी देश बनाउन चाहन्छौं, हामी देशमै बस्न चाहन्छौं भनेर अगाडि बढ्नुभएको छ । त्यो वातावरण यी युवाहरूका आमा, दिदी, काकीहरूले बनाइरहनुभएको छ,’ उहाँले भन्नुभयो । नेपालमै पर्यटन, कृषि, प्रविधिको विकास हुँदै गएकाले सम्भावना प्रशस्त मात्रामा रहेको उहाँले बताउनुभयो ।

महिलालाई पढाइ र गराइको अवसर सहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रमा पनि प्रदान गर्न सक्नुपर्नेमा अध्यक्ष ज्ञवालीको जोड थियो । ‘हामीले कामका आधारमा महिलाले पनि अवसर पाउनुपर्‍यो भनेर जोड दिइरहेका छौं । महिलाहरू अलि पछाडि छन् । युवा बहिनीहरू हतोत्साहित नहुनुस् । आफ्नो कर्म नछाडौं,’ उहाँले भन्नुभयो, ‘निश्चय पनि त्यो दिन आउँछ, समान अवसर र समान पहुँचमा हामी हुनेछौं ।’

सबै महिला उद्यमी भएर सशक्तीकरणको बाटोमा अगाडि बढ्न सके त्यो नै सबभन्दा ठुलो सुख हुने अध्यक्ष ज्ञवालीको तर्क थियो । सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष लक्ष्मण न्यौपानेले नेपालमै रोजगारीको प्रशस्त सम्भावना रहेको बताउनुभयो । सिद्धार्थ ग्रुपले ‘पढाइ र गराइ’ लाई सँगसँगै अगाडि बढाउने नीति अगाडि सारेको उहाँले प्रस्ट पार्नुभयो ।

‘बुहारन वाइल्डरनेस क्याम्प’का संस्थापक निर्देशक मनोज गौतमले अवसरको पहिचान गर्न सक्ने पक्कै सफल हुने बताउनुभयो । ‘समस्या जति पनि छ तर अवसरको पहिचान गर्न सक्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘हातहातमा दुनियाँ छ । सूचना, प्रविधि, ज्ञान, सिप हातहातमा छन् । त्यो कुरालाई पहिचान गर्न सक्नुपर्छ।’ संरक्षणका काममा आफूले बटुलेको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, ‘मैले जंगली जनावरसँग काम गरेको छु । गिद्ध संरक्षणदेखि लिएर थुप्रै समुदायसँग काम गरेको छु । विकास भएन भनेर हामी कराइरहेका छौं तर संरक्षण र विकास ठिक उल्टा कुरा हुन् ।’

नेपालमा २३ प्रतिशतभन्दा बढी भूभाग संरक्षित क्षेत्र रहेको गौतमले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘नीति खुकुलो नहुँदा संरक्षण दुरुपयोग हुने डरले सदुपयोग गर्नबाट हामी डराइरहेको अवस्था छ। समुदायहरू संरक्षणका नाममा पीडित छन् । संरक्षण भनेको जंगली जनावर र जंगलसँग मात्र सम्बन्धित छ भन्ने भाष्य बन्यो । समुदायलाई वर्जित गर्ने काम भयो ।’

Previous articleबैजनाथमा हाऊराम थारूको नेतृत्वमा जसपा नेपाल गठन
Next articleनेपालगन्जबाट चार किलो बढी चरेससहित दुई जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here