
बर्दिया । बर्दियामा गुलरियामा चितुवाको आक्रमणबाट एक बालिको ज्यान गएपछि हात्ती परिचालन गरेर चितुवा खोजी सुरु गरिएको छ । चितुवा नियन्त्रणमा लिन श्याम कलि र शान्ती कलि नामका दुई हात्ती गुलरिया नगरपालिका वडा नम्बर ५ स्थित बालापुर सामुदायिक वनको मैदानमा उतारिएको छ ।
बुधवार ७ बर्षीया सायरा चौधरीको ज्यान लिएको चितुवालाई नियन्त्रणमा लिन केज र डार्ट गन प्रयोग गरिएपनि चितुवा नियन्त्रणमा आउँन नसकेपछि शान्ति कलि र श्यामकलि मैदानमा उत्रिएका हुन् । आक्रमणपछि चितुवा वस्तीमा देखिएको स्थानीय बताउँछन् । हात्तीसँग हात्ती चालक (माहुते), वन्यजन्तु प्राबिधिकसहित १२ जना दक्ष जनशक्तिले समस्याग्रस्त चितुवाको खोजी गर्नेछन् । जंगली हात्तीले प्रति घन्टा ४० किलोमिटरको यात्रा गर्न सक्ने निकुन्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले बताउनुभयो ।
श्याकली निकुन्जको हात्ती हो भने शान्तिकलि एनटिएनसि संस्थाको स्वामित्वमा रहेको छ । गुलरिया नगरपालिका वडा नम्बर ५ बालापुर गाउँकी बालिकाको चितुवा आक्रमणबाट मृत्यु भएपछि पडित परिवार शोकमा छ भने स्थानीय आक्रोषित छन् । मृतको शव अहिले बर्दिया अस्पतालमा राखिएको छ । चितुवालाई नियन्त्रणमा नलिएसम्म शव नबुझ्ने परिवारको अडान कायम छ ।
जिल्ला सुरक्षा समितिको टोलीले घटना स्थल पुगेर चितुवा नियन्त्रण कार्य अघि बढाउँन प्राविधिक टोलीलाई निर्देशन दिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार वनकर्मी, निकुन्जकर्मी, सुरक्षाकर्मी र एनटिएनसिका वन्यजन्तुको प्राविधिक टोली समस्याग्रस्त चितुवा नियन्त्रणमा लिन अघि बढिसकेको छ । बर्दियामा चार महिनाभित्र चितुवाको आक्रमणबाट चार जनालाई आक्रमण गरेर दुई बालिकाको ज्यान गएको छ ।





