
नेपालगन्ज । नेपालगन्जमा संचालित पावर फोर एवाई परियोजनाको पालिकास्तरीय अनुगमन गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा सेभ द चिल्ड्रेनको साझेदारीमा सामाजिक विकास मंच (एस डि एफ) बाँके संचालन गरेको सो परियोजनाको बुधबार सरोकारवालाले संयुक्त रुपमा अनुगमन गरेका छन् ।
अनुगमनले परियोजनाले गरेको कार्य सकारात्मक देखिएको छ । परियोजना अन्तर्गत भएको गतिबिधिले युवालाई स्वरोजगार बन्न सहयोग पु¥याएको छ । एस डिएफको सहयोगले युवालाई व्यवसायीक रुपमा अगाडी बढ्न मद्दत पुगेको स्वयं व्यवसायमा अगाडी बढिरहेका युवाले बताएका छन् ।

सरोकारवाला अनुगमनले परियोजना अन्तर्गत गरिने कार्यहरुले समन्वय सहकार्य गरिएका संस्थालाई सामाजिक कार्य गर्न प्रेरित गरेको छ । कामको खोजीमा रहेका र काम नपाएर भौंतारिएका युवाहरुका लागि यो परियोजना एउटा पथ प्रदर्शक साबित बनेको ती युवाहरुको भनाई छ ।
परियोजनामार्फत सुरुमा लघु उद्यम विकास तालिम, सीप विकास लगायतका तालिम लिएपछि काम गर्ने जाँगर सृजना भएर व्यवसाय संचालन गरिएको थियो । सुरुमा सानो लगानी तथा सानो मात्रामा सुरु गरिएको उद्यम हाल व्यवसायका रुपमा अगाडी बढेको अनुगमनले देखाएको छ ।

अनुगमनमा सहभागि नेपालगन्ज उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखा प्रमुख गोर्ख बहादुर थापाले संस्थाले उपमहानगरको समन्वयमा संचालन गरेको परियोजनाले राम्रो उपलब्धी देखिएको बताउनुभयो । ‘जो युवालाई सहयोग गरिएको छ ती युवाले अहिले राम्रो गरेको देखिएको छ ।’ थापाले भन्नुभयो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पवित्रा पुरीले सकारात्मक कार्य देखिएको बताउँदै उपलब्धीका बारेमा उपमहानगरमा पनि प्रतिवेदनका रुपमा प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।
उहाँले अनुगमनमा देखिएको उपलब्धी प्रतिवेदनका रुपमा उपमहानगरमा आउँदा यहाँबाट अब हुने कार्यक्रमहरुमा यो परियोजनामार्फत सहयोग पाएका र अझै आवश्यकता भएकालाई समावेश गर्न सकिने बताउनुभयो ।

सामाजिक विकास प्रमुख कृष्ण प्रसाद जोशीले संस्थाले गर्दै आएको कार्यहरुको विगतदेखि नै अनुगमन गर्दै आएकाले उहाँहरुको कार्यले धेरै युवाले आफ्नो क्षमताको विकास गरेको र परिवार चलाउने स्रोत बनेको बताउनुभयो ।
अनुगमन टोलीले नेपालगन्ज वडा नम्बर १२ मा वर्षरी, शैक्षिक र उद्यम संचालनका लागि सहयोग पाएका, वडा नम्बर ८ र २२ मा युवाहरुले गर्दै आएका कार्यहरुको अनुगमन गरिएको मंचका अध्यक्ष चम्प सिंह थापा मगरले जानकारी दिनुभयो ।
यस्तै युवाहरुका व्यवसायमा न्यूनतम व्याजमा ऋण लगानी गर्दै आएको नेपालगन्ज नम्बर २ स्थित गुरुकुल सहकारीका कार्यसमिति तथा प्रबन्धकबीच छलफल गरिएको थियो ।

अनुगमनमा उपमहानगर वडा नम्बर ८ वडाअध्यक्ष रजनीश बाजपाई, वडा नम्बर २१ का वडाअध्यक्ष राज कुमार साहू, वडा नम्बर २२ का वडा अध्यक्ष अब्दुल गफ्फार हलवाई, शिक्षा शाखा प्रमुख थापा, महिला शाखा प्रमुख पुरी, सामाजिक विकास शाखा प्रमुख जोशी, कृषि शाखा प्रमुख अम्बिका रिजाल, नगर आपाङ्गता संजालका अध्यक्ष गोकर्ण आचार्य, सेभ द चिल्ड्रेनका परियोजना संयोजक फुल कुमारी चौधरी, मंचका वरिष्ठ सल्लाहकार घनश्याम उपाध्याय, सदस्य राम श्रेष्ठ, पार्वती घिमिरे, परियाेजना बरिष्ठ कार्यक्रम अधिकृत बृजेश ठाकुर, फिल्ड अधिकृत सुमित्रा चाैधरीलगायतको सहभागिता रहेको थियो ।






