
नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको खेलकुद प्रतियोगितामा महिला फुटबलमा वडा नम्बर ४ का ए र बि टीम नै फाइनलमा पुगेको छ ।
यस्तै पुरुषतर्फ वडा नम्बर ४ र वडा नबर ३ बीचको विहिबार सम्पन्न पहिलो सेमीफाइनल फुटबल खेलमा खेल समय अवधिभर कुनैपनि गोल हुन नसक्दा ट्राइबेकरमा गएको थियो ।
३ नम्बर वडालाई ट्राइबेकरमा हराउँदै ४ नम्बर वडा फाइनलमा प्रवेश गरेको हो । कबड्डी वडा नम्बर ७ विजेता भैसकेको छ । शुक्रबार आज फुटबल खेलमा वडा नम्बर १ र वडा नम्बर २ विचमा दोस्रो सेमिफाइनलका लागी प्रतिस्पर्धा हुनेछ ।
खजुरामा भइरहेको खेलकुद प्रतियोगितामा भलिबलतर्फ ४ टीम, क्रिकेटमा ८ टीम, भलिबलमा ७ टीम, फुटबलतर्फ पुरुष ६ वटा टिम, महिला फुटबलतर्फ ४ टीम, कबड्डीतर्फ ४ टिम र भेट्रान २ टीमले सहभागिता जनाएका छन् ।
खेलकुद प्रतियोगितामा मिनी म्याराथन र साईकीलिङ प्रतियोगिता पनि हुने खेलकुद विकास समितिका संयोजक छवि विष्टले जानकारी दिनुभयो । प्रतियोगितामा विजयी हुने टीमले नगद सहित ट्रफि, मेडल प्रमाणपत्र प्राप्त गर्ने छन् ।
८ वटा वडा रहेको खजुरा गाउँपालिकाका ८ वटै वडाले खेलकुद कार्यक्रममा सहभागीता जनाएको खजुरा खेलकुद परिषदका सदस्य सचिव छबी बिष्टले जानकारी दिनुभयो ।
उहाँले खजुराका बिभिन्न स्थानहरुमा बिभिन्न इभेन्टका खेलहरु संचालन भइरहेको बताउनुभयो । प्रतियोगिताहरुमा शुक्र भलिबल स्टेडियम ए गाउँमा भलिवलका खेलहरु भइरहेका छन् भने मिनि रंगशाला डी गाउँमा फुटवल प्रतियोगिता संचालन भैरहेको छ ।
अहिले खजुरा खेलकुदमय बनेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिकले बताउनुभयो ।





