
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले बजार क्षेत्रमा छाडा पशुचौपायाको संख्या बढेपछि काञ्जीहाउस लैजाने गरेको छ । शनिबार पनि बजार क्षेत्रमा छाडा छोडिएका ५५ वटा पशुचौपायालाई वडा नम्बर २१ विर्तास्थित काञ्जीहाउसमा लगिएको छ ।
ती मध्ये ४६ वटा गाईगोरु र बाच्छाबाच्छी तथा ९ वटा घोडा, खच्चड र तिनका बच्चा काञ्जीहाउस पुर्याइएको नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीले जानकारी दिनुभयो । बजारमा छाडा पशुचौपायाको संख्या बढ्दै जाँदा दुर्घटनाको जोखिम बढेपछि छाडा पशुचौपायालाई काञ्जीहाउस लगिएको बोगटीले बताउनुभयो ।
नगरका विभिन्न भागमा छरिएर रहेका छाडा पशुचौपायालाई एकितृत गरेर एकसाथ काञ्जीहाउस पुर्याइएको थियो । बोगटीका अनुसार ट्राफिक चोकदेखि राँझा चोक तथा बजार क्षेत्रभित्र सडकमा रहेका छाडा पशुचौपायालाई एकिकृत गरी कान्जीहाउस लगिएको हो ।
नगर प्रहरीको टोलीले छाडा पशुचौपायालाई काञ्जीहाउस पुर्याएको हो । नगर प्रहरीले सडकमा छाडा पशुचौपायाको संख्या बढ्दा काञ्जीहाउस लैजाने गरेको छ ।






