
नेपालगन्ज । बागेश्वरी महाआरतीमा आज सोमबार सात लाख दिप प्रज्वलन (लक्ष्यवती) प्रज्जवल गरिने भएको छ । बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितीका अनुसार आज आज सोमबारको महाआरतीमा सात लाख दिप प्रज्वलन गरिन लागिएको हो ।
गुठी व्यवस्थापन समितीका अध्यक्ष गोपाल प्रसाद अधिकारीले महाआरतीमा बाँके र बर्दियाका विभिन्न मठमन्दिरमा मठाधीश, सन्त, महन्तका साथै छिमेकी देश भारतको उत्तरप्रदेशका शक्तिपीठ र मठमन्दिरका महन्तहरूलाई आमन्त्रण गरि श्रावण मास बिषेश बनाउने बताउनुभयो ।
अध्यक्ष अधिकारीले नाट्टा बाँके च्याप्टरको संयोजनमा सात लाख दिप प्रज्वलन (लक्ष्यवर्ती) गरिने बताउँदै साउन अन्तिम २६ गते १३३ औं श्रृङखला महाआरतीमा रुद्राभिषेक गरेर हरेक भक्तलाई रुद्राक्ष प्रसाद उपलब्ध गराउने तयारी भएको बताउनुभयो ।
साथै सो अवसरमा महाआरती स्थलमा खुशियालीसहित शान्त र सौम्य आतिसबाजी पनि गरिनेछ । गुठी समितिका सदस्य एव वागेश्वरी महाआरती सञ्चालन तथा व्यवस्थापन उपसमितिका संयोजक सुनिल सिह हमालको नेतृत्वमा महाआरती कार्य नियमित रुपमा संचालन हुँदै आएको छ ।
२०७९ माघ १५ गते महाआरतीको प्रारम्भ भएको थियो । बागेश्वरीमा महाआरतीको प्रारम्भ भएपछि त्यसको सिका गर्दै बाँके बर्दिया जिल्लाका आधा दर्जनबढी धार्मिक स्थल, नदी वा जलाशय क्षेत्रमा महाआरतीको बिस्तार भइरहेको छ ।
महाआरतीले जिल्लामा आध्यात्मिक जागरण ल्याउनुका साथै हिन्दू धर्ममा आस्था राख्ने सबै समुदायका व्यक्तिहरुबीच सदभाव र भाइचारा वृद्धि गरिरहेको गुठीको विश्वास छ ।
यसका साथै शक्तिपीठ बागेश्वरीमा सुरु भएको महाआरती हिन्दू धर्ममा आस्था राख्ने भक्तका लागि एउटा पवित्र धार्मिक अनुष्ठान हो । गुठीले महाआरती संचालनको कमी कमजोरीलाई सुधार गर्दै सभ्य, भव्य र धार्मिक उत्सवको रुपमा महाआरतीलाई अझ बढी भब्य बनाउन आग्रह गरेको छ ।





