
नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ५ मा वडाअध्यक्ष कप क्रिकेट प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । प्रतियोगितालाई नरैनापुर गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष कृष्णचन्द्र मौर्यले उद्घाटन गरेपछि सुरु भएको हो ।
नरैनापुर–५ को सहयोगमा र दर्पण समाज विकास नेपाल नरैनापुरले आयोजना गरेको प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष मौर्यले यस क्षेत्रको खेल विकासका लागि आफ्नो वडाबाट रकम बिनियोजन गरी ६ वटै वडा खेलाडीहरुलाई खेल अवसर प्रदान गरेको बताउनुभयो । साथै उहाँले सबै वडाले खेल विकासका तथा युवाहरुको क्षमता प्रस्फुटन गर्नका लागि समय समयमा खेलहरु आयोजना गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतियोगितामा नरैनापुरको वडा नम्बर १ देखि ६ सम्मका जम्मा १० वटा समूह प्रतिस्पर्धाका लागि नाम दर्ता गराएका छन् । बिहीबार भएको उद्घाटन खेलमा भने आयोजक समूह मटेहिया क्रिकेट क्लब विजयी भएको छ । उसले महेन्द्र मावि जेन–जी क्रिकेट क्लब मटेहियालाई पराजित गरेको हो । १११ रन बनाएको मटेहियाले १२ ओभरमा जेनजीलाई ८१ रन दिएर सबै खेलाडीलाई अलआउट गरेको थियो । पहिलो खेलमा मटेहिया क्लबका दाउद खान म्यानले अफ द म्याच घोषित हुनुभयो ।
यस्तै बिहीबार नै भएको दोस्रो खेलमा खलिफा नूर अहमद क्रिकेट क्लब नरैनापुर–२ विजयी भएको छ । गोल्डेन बनियागाउँले १२ ओभर खेल्दै १०४ रनको लक्ष्य दिएकोमा खलिफाले ९ ओबरमा ४ विकेटको नोक्सानीमा जीत हासिल गरेको थियो । दोस्रो खेलमा खलिफाका कप्तान समीन खाँले ६५ प्लस रन बनाएर म्यान अफ द म्याच घोषित हुनुभयो । दुई वटा खेलमा सुजीत तिवारी र कुल कृष्णकान्त श्रीवास्तवले स्कोर तथा कमेन्ट्रीमा अरु दर्पण र रमजान अन्सारी र अम्पायरमा राप्ती सोनारी–७ का सबिन पुन र घनश्याम तिवारीले सहजीकरण गर्नुभएको थियो ।
नरैनापुर–५ मटेहियास्थित श्री महेन्द्र मा.वि. खेल मैदान मोतिपुरमा सुरु भएको प्रतियोगिता दर्पण विकासका अध्यक्ष सियाराम धोबीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा न–५ मटेहियाका वडाअध्यक्ष मौर्य, वडा नम्बर ६ का वडाअध्यक्ष प्रेम चन्द्र मौर्य, वडा नम्बर ४ का वडाअध्यक्ष मनोज कुमार शर्मा, इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक गणेशराज उप्रेती र नरैनापुर–५ का युवा समाजसेवी सुजीत कुमार तिवारी लगायतको उपस्थिति रहेको थियो ।
यस्तै मंसिर ५ गते बिहान ९ बजे हुने खान क्रिकेट क्लब नरैनापुर–३ गेगली र जमुनी सुपर किंग नरैनापुर–६ जमुनीबीच, दोस्रो खेलमा ११ः३० बजे भगवानपुर रोयल्स क्रिकेट क्लब नरैनापुर–०५ भगवानपुर र श्री हरे–हरे क्रिकेट क्लब नरैनापुर–१ कटकुइयाबीच र तेस्रो खेलमा २ः३० बजे नरैनापुर कर्मचारी क्रिकेट क्लब नरैनापुर र लेजेण्ड क्रिकेट समूहबीच प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक अरुण यादवले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले ११ हजार र उपबिजेताले ५ हजार प्रदान गरिनेछ ।





