जेन-जीकाे माग अनुसार परिवर्तन हुने पार्टी काँग्रेस हाे: नेता सुधांशु

नेपालगन्ज । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार सुधान्सु कोइरालाले जेन-जी युवाहरुको भावना बुझेर नेपाली कांग्रेसले आफुलाई परिवर्तन गरेको बताउनुभएको छ।

जेन-जी आन्दोलनपछि आफ्नो नीति र नेतृत्व परिवर्तन गर्ने पहिलो पार्टी नै नेपाली कांग्रेस रहेको उहाँको भनाई छ । नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ को प्रचार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सचिव समेत रहेका उम्मेदवार कोइरालाले पार्टीभित्र आफ्नो नीति मात्रै नभएर काँग्रेसले नेतृत्व पनि परिर्वतन गरेको स्पष्ट पार्नुभयो ।

‘जेन-जी युवा समुहले भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा आवाज उठाउँदै गर्दाखेरी देश दुर्घटनामा गयो, युवा साथीहरुले साहदत प्राप्त गर्नुपर्यो, देश जल्यो,’ उहाँले भन्नुभयो, ‘अहिले जेन-जीको सेन्टिमेन्टमा धेरै राजनीति गर्न खोजिदैछ, सबैभन्दा पहिले जेन-जीको भावना बुझेर कस्ले परिवर्तन गर्यो रु जेन-जीको भावना बुझेर सबैभन्दा पहिला परिवर्तन गर्ने पार्टी नेपाली काँग्रेस हो, उसले आफैबाट परिवर्तनको सुरुवात गरेको छ ।’

काँग्रेसले गरेको नीति र नेतृत्व परिवर्तन सुरुवात मात्रै भएको र अझै धेरै परिवर्तन काँग्रेसले गर्ने नेता कोइरालाले बताउनुभयो । ‘अझै धेरै परिवर्तन नेपाली कांग्रेसले गर्नेछ, यो चुनावमा देशभरका  १ सय ६५ जना उम्मेदवार मध्ये म जस्ता नयाँ अनुहारका १ सय ६ जना उम्मेदवार छौं, यो पनि एउटा कांग्रेसले सुरु गरेको परिवर्तन हो,’ उहाँले थप्नुभयो ।

आफुले जनताको प्रतिनिधि भएर काम गर्दा भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा सधैंभरी आवाज उठाउने बाँके क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार कोइरालाले प्रतिवद्धता जनाउनुभयो ।

देशमा प्राप्त उपलब्धी रहिरहोस्, संविधान बाँचोस् र कांग्रेस बलियो होस भनेर युवादेखी बृद्धहरु सम्म कांग्रेसको पक्षमा माहोल बनाउन अहिले दिनरात लागिरहेको भन्दै उहाले भन्नुभयो, ‘नेपालगन्जको वडा नम्बर १३ बाट जितको झण्डा फहराईसकेको छ, यो वडामा पनि मैले एकदमै उर्जा पाएको छु, यही उर्जा लिएर अरु वडामा पनि म जानेछु ।’

बाँके क्षेत्र नम्बर २ का आम मतदाताको विश्वासलाई आफुले तल–माथी हुन नदिने र विश्वासलाई डगमगाउन नदिने उनले प्रतिवद्धता जनाउनुभयो । नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ का सभापति शालिकराम शाहको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी, नेपाली कांग्रेसका नेता सुदिपनरसिंह राणा, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ता, नेता मोहम्मद याकुव अन्सारी लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश, जिल्ला, क्षेत्र, नेपालगन्ज उपमहानगरपालिका, वडा तहका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो ।

Previous articleकमरुद्दिन मतदाता भेटघाटमा ब्यस्त
Next articleबाँके क्षेत्र नं.२ का जसपा उम्मेदवारलाई जनताको साथ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here