
नेपालगन्ज । बाँके क्षेत्र नम्बर २ का जसपा नेपालका उम्मेदवार कमरुद्दिन राईको अनुहार हँसिलो हुँदै गएको छ । मतदातासँगको भेटघाट तथा अन्तरक्रियाको क्रममा मतदाताले साथ दिने भनेपछि उहाँको अनुहार दिन प्रतिदिन हँसिलो हुँदै गएको हो ।
मतदाता भेटघाट तथा छलफलका लागि बुधवार नेपालगन्ज उपमहानगरपालिका अन्तरगत त्रिवेणीमोड, सुनार मन्डी, पानी टंकी, बागेश्वरी मन्दिर लगायत क्षेत्रमा पुगेका राईलाई मतदाताले न्यानो स्वागतका साथै आशिर्वाद दिए । ‘मतदाताको माया, स्नेह, सद्भाव र आतिथ्यताले हामीलाई हौसला मिलेको छ,’ जसपा नेपालका नेता कौशल कुमार धोवीले भन्नुभयाे, ‘हामी पुगेको ठाउँमा अहिलेसम्म निराश बन्न परेको छैन ।’
कमरुद्दिनले नेपालगन्ज र डुडुवाका धेरै मतदातालाई भेटेर अन्तरक्रिया गरिसक्नुभएकाे छ । नेपालगन्ज उपमहानगरको उपमेयर भएका बेला समेत घर घरमा पुग्नुभएका उहाँ संसदिय निर्वाचनमा उम्मेदवार बनेपछि मतदाता भेटघाटलाई झनै तिव्रता दिनुभएकाे छ । ‘हामी निरन्तर भेटघाटमा छौँ । हामी जान नसकेको ठाउँबाट किन नआएको भन्ने गुनासो आउँछ । हामीलाई मतदाताले आफै फोन गरेर बोलाउँछन्,’ जसपा नेता राजनराना मगरले भन्नुभयाे ।
´इस बार कमरुद्दिनका भोट दिया जाई,’ नेपालगन्ज सुनार मन्डीका बिजय गुप्ताले भन्नुभयाे, ‘पुरानेका काम और ब्यवहार देख चुकेँ । इस बार नवाका भोट दिया जाइ ।`मधेसको मुद्धा अन्य दल नभएकोले मधेसी र मुस्लिम समुदायमा उहाँको पकड राम्रो भएको विश्लेषण गरिएको छ । ‘मधेसी, मुस्लिमको आवाज बोल्ने उम्मेदवारलाई भोट दिने योजना बनाएका छौँ,’ त्रिवेणी मोडमा भेटिएका एक मतदाताले भने, ‘मधेसी र मुस्लिमको अधिकारका लागि नबोल्नेलाई यसपाली बाई बाई गर्नुपर्छ ।’
मतदाताले देखाएको सौहार्दताले आत्मवल बढेको जसपा नेपालका उम्मेदवार राईले बताउनुभयाे । उहाँले मधेसी, मुस्लिममात्र नभई अन्य समुदायका मतदाताले समेत माया गरेको बताउनुभयाे । ‘मतदाताले हामीलाई सोँचेभन्दा धेरै साथ दिनु भएको छ । यसले हामीलाई हौसला मिलेको छ,’ उहाँले भन्नुनुभयाे ।





