
नेपालगन्ज । बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बिहीबार (आज) डुडुवा गाउँपालिकाको वडा नम्बर ४ मा घरदैलो गर्नुभएकाे छ । घरदैलोका क्रममा मतदातालाई प्रत्यक्ष रुपमा भेटेर उहाँले आर्शिवाद मागिरहनुभएकाे छ । डुडुवा-४ को मोल्हुपुर्वामा आयोजित कार्यक्रममा उपस्थित स्थानीयले कोइरालालाई स्वागत गरेका थिए ।
नेपाली कांग्रेस डुडुवा गाउँपालिका वडा नम्बर ४ का वडासभापति हरि रेउलेको अध्यक्षतामा भएको भेटघाट कार्यक्रममा पार्टीका महासमिति सदस्य एवम् डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, कांग्रेसका पुर्वमहासमिति सदस्य एवम् अगुवा नेता मोहम्मद हलिम खाँ, डुडुवा गाउँपालिका उपाध्यक्ष साहिदा बानो, वडा नम्बर ४ का पार्टी सचिव बेलबहादुर बोहरा लगायत उपस्थित स्थानीयले कोइरालालाई यसपटक क्षेत्र नम्बर २ मा कांग्रेसकै पक्षमा माहोल देखिएको भन्दै जितको अग्रिम शुभकामना दिनुभएकाे थियाे ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार कोइरालाले आफुले क्षेत्र नम्बर २ का जनताको शिर सधैंभरी ठाडो हुने गरी काम गरेर देखाउने प्रतिवद्धता जनाउनुभयाे । ‘म पहिलो पटक चुनाव लडेको छु, मलाई एक पटक काम गरेर देखाउने अवसर दिनुस्,’ दुई हात जोड्दै उहाँले भन्नुभयाे, ‘म सन्त नेता स्वर्गिय सुशिल कोइरालाको परिवारभित्रको एउटा सदस्य हुँ, मैले उहाँले छाडेर गएका अधुरा सपना पुरा गर्नेछु ।’
आफुले भ्रष्टाचारविरुद्ध सधैं आवाज उठाउने कोइरालाले बताउनुभयाे । ‘मलाई पुर्वप्रधानमन्त्री एवम् पुर्व पार्टी सभापति, सादगी नेता स्वर्गिय सुशिल कोइरालाले पनि यही कुरा सिकाउनु भएको थियो, म जनताका अगाडी शिर ठाडो पारेर हिड्नेछु, भ्रष्टाचारका विरुद्ध बोलिरहनेछु,’ उहाँले अगाडी थप्नुभयाे ।
उम्मेदवार कोइरालाले बिहीबार(आज) नै डुडुवा गाउँपालिका वडा नम्बर ४ को भग्रहवा, साहपुर्वा, अग्रहवा लगायत गाउँमा पनि चुनावी भेटघाट तथा घरदैलो गरेको युवा नेता रमेश तिमिल्सिनाले जानकारी दिनुभयाे । भेटघाटका क्रममा मतदाताले उम्मेदवार शुधान्सुप्रति निकै सकारात्मक प्रतिक्रिया दिएको र मान-सम्मान गरेको उहाँले बताउनुभयाे ।





