
नेपालगन्ज । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले सीमावर्ती क्षेत्रका जनताको समस्या समाधानको लागि नीतिगत रुपमा प्रयास गर्ने बताउनुभएको छ ।
आसन्न प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनुभएका पुनले नेपाल–भारत सीमावर्ती क्षेत्रका जनताले पाइरहेको समस्यालाई समाधान गर्नको लागि नीतिगत रुपमा सम्बोधन गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालको लालपूर्जा छ । भूमि छ । हामीले प्रयोग गरिरहेका पनि छौं । तर, बैंकले धितो नराख्ने समस्या छ । यो भनेको सीमावर्ती क्षेत्रका जनताको अवमूल्यन हो । जमिनको मूल्यांकन कम होला तर बैंकले धितो नै नराख्ने नीति परिवर्तन गर्नुपर्छ । यो समस्या देशभरकै सीमावर्ती क्षेत्रको भएकोले नीतिगत सुधार आवश्यक छ ।’
सीमावर्ती क्षेत्रमा बसोबास गरेर नेपालको अस्तित्व जोगाई राख्ने नागरिकप्रति सरकारले अन्याय गरेको पुनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जसले नेपालको अस्तित्व जोगाइदिनुभएको छ । जसले देशको सीमा सुरक्षामा चौकीदारी गरेका छन् । उनीहरुकै जमिनको मूल्य मान्यता नहुनु दुःखद कुरा हो । मूल्यांकनमा कम होला, त्यो आफ्नो ठाउँमा छ । तर, बैंकले धितो नराख्ने कुरा न्यायपूर्ण छैन ।’
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ राधापुरका जनतासँग भेटघाट गर्ने क्रममा पुनले यहाँको विकासको लागि स्थानीयसँग छलफल गरेर काम गर्ने बताउनुभएको हो । राधापुरमा यसअघि पनि नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर र बादशाह कुर्मीको पहलमा थुप्रै विकास निर्माण काम भएको बताउँदै अब नयाँ योजनाहरु कार्यान्वयनमा आफूले पहल गर्ने बताउनुभयो ।
राधापुरको विकासको लागि स्थानीय नागरिकसँगै छलफल गरेर अगाडि बढ्ने उहाँले बताउनुभयो । खजुरा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मनवीर क्षेत्रीले सीमावर्ती क्षेत्रका जनताको जमिनलाई बैंकले धितो नराख्ने समस्या रहेको गुनासो गर्नुभयो । बैंकको नीतिका कारण सीमावर्ती क्षेत्रका जनताले दुःख पाइरहेको उहाँले बताउनुभयो ।





