
नेपालगन्ज । बाँके क्षेत्र नम्बर-२ बाट जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार कमरुद्दिन राईले जनताको अभिमत पाए नेपालगञ्जमा आधुनिक क्रिकेट मैदान निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ ।
मतदाता भेटघाटका क्रममा नेपालगञ्ज उपमहानगरपालिका-६ नहरपुर्वा पुग्नुभएका म्मेदवार राईले युवालाई खेलकुदमार्फत जोड्ने उद्देश्यसहित क्रिकेट मैदान निर्माण गर्ने घोषणा गर्नुभएकाे हाे ।
उहाँले क्रिकेट मैदानका लागि आवश्यक जग्गाको व्यवस्थापन भइसकेको जानकारी दिँदै भन्नुभयाे, “जग्गाको बन्दोबस्त भइसकेको छ। कुन ठाउँको जग्गा हो अहिले खुलाउँदिनँ । जग्गा किटान गर्दा अरूले पनि आफ्नो एजेन्डा बनाउँछन् । तर जितेपछि क्रिकेट मैदान बनाएरै छाड्छु ।”
राईले आफ्नो घर-समुदाय छाडेर जाने नेताले जनताको अधिकार स्थापित गर्न नसक्ने टिप्पणी गर्दै मतदातालाई सचेत रहन आग्रह गर्नुभयाे । “आफूले बनाएको घर छाडेर जानेहरूले अरूको लागि गर्लान् भन्ने विश्वास गर्न सकिँदैन,” उहाँले भन्नुभयाे, “मधेसीको अधिकार स्थापित गर्न कुनै कसर बाँकी राख्ने छैन । त्यसका लागि तपाईंहरूको आशिर्वाद आवश्यक छ।”
उहाँले जितेर गएपछि पनि जनतासँग निरन्तर जोडिइरहने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयाे, “जितेर गए पनि म सदैव तपाईंहरूसँगै रहनेछु। काँधमा काँध मिलाएर सुख–दुःख साटासाट गर्ने मेरो अठोट छ।”
नेपालगञ्ज उपमहानगरपालिकाको उपमेयर हुँदा चप्पल लगाउने र जुत्ता लगाउने सबैलाई समान व्यवहार गरेको स्मरण गराउँदै उहाँले भविष्यमा पनि कसैलाई काखा र कसैलाई पाखा नगर्ने स्पष्ट पार्नुभयाे । “पदमा हुँदा होस् वा नहुँदा, मेरो व्यवहार सधैँ समान रहनेछ,” उहाँले भन्नुभयाे “पदमा पुगेपछि मतदातालाई बिर्सने मेरो बानी छैन ।”
उम्मेदवार राईले गरिब, असहाय र पछाडि पारिएका समुदायको अधिकारका लागि निरन्तर संघर्ष गरिरहने प्रतिबद्धता समेत दोहोर्याउनुभयाे ।





