
नेपालगन्ज । बाँके क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार सुर्य प्रसाद रेग्मीले आन्तरिक रुपमा नेपाली काँग्रेसका उम्मेदवार अमर सिंह पुनलाई समर्थन जनाउने कुरा अफवाह रहेको पुष्टि भएको छ ।
क्षेत्र नंम्बर ३ मा स्वतन्त्र उम्मेदवारी दिनुभएका रेग्मीले अर्का उम्मेदवार पुनलाई आन्तरिक समर्थन जनाएको कुरा गलत प्रचार गरिएको प्रष्ट पार्नुभएकाे छ ।
लामो समयदेखि वीपी काँग्रेसमा सक्रिय रेग्मी प्रतिनिधि सभामा आफ्नो लामो समयको योगदानलाई यही बेला अघि बढ्नुपर्छ भनेर उम्मेदवारी दिएकाे बताउनुभयाे । २०५४ सालदेखि काँग्रेसमा सक्रिय रेग्मी वीपी काँग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ ।
‘उहाँले काँग्रेसले देशमा रोजगारी, गुणस्तरीय शिक्षा, कलकारखाना, भ्रष्टाचार नियन्त्रण गर्न सहमत हुन्छ भने मात्रै आफ्नो समर्थन रहन्छ,’ रेग्मीले भन्नुभयाे, ‘हैन भने काँग्रेस उम्मेदवारलाई आफुले समर्थन जनाएको कुरा हल्ला मात्र हो ।’
साइकलमार्फत भएर पनि आफुले जनताका घरघरमा पुगेर भेटघाट गरिरहेको उहाँले बताउनुभयाे । फागुन ४ पछि आफ्नो अभियान अझ बढी प्रभावकारी बनाउने उद्देश्यका साथ लाग्ने उहाँको भनाई छ । एकदिन अघि मात्रै उहाँले पुनलाई आन्तरिक समर्थन जनाएको कुरा सामाजिक संजालमार्फत सार्वजनिक भएको थियो ।





