‘निर्वाचनका बेला पत्रकार अझ मर्यादित र जिम्मेवार भएर संचार कर्म गर्नुपर्ने’

नेपालगन्ज । नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले निर्वाचनका बेला पत्रकारहरूले अझ मर्यादित र जिम्मेवार भएर संचार कर्म गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ बाँकेले मंगलबार नेपालगन्जमा आयोजना गरेको ‘निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता’ विषयक अन्तरक्रिया कार्यक्रममा वरिष्ठ उपाध्यक्ष आचार्यले निर्वाचनको समयमा पालना गर्नुपर्ने आचारसंहितामा गम्भीर बन्नुपर्नेमा जोड दिँदै सन्तुलित समाचार सम्प्रेषणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

पत्रकारहरूले पक्षधरता लिन नहुने प्रष्ट पार्दै उहाँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन संचार माध्यम जिम्मेवार बन्नुपर्ने बताउनुभयो । महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारीले मिडिया र सामाजिक संजालका प्लेटफर्मलाई एउटै डालोमा राखेर हेर्दा समस्या सिर्जना भइरहेको बताउनुभयो । उहाँले मिडिया र पत्रकार चरम सेल्फ सेन्सरशिपको चरणमा रहेको धारणा राख्नुभयो ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकारहरूका गतिविधि महासंघले सूक्ष्म ढंगले नियालिरहेको बताउनुभयो । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकारहरूलाई जिम्मेवार गराउन ‘सेन्सटाइज’ गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम गरिएको बताउनुभयो ।

महासंघ बाँकेका अध्यक्ष गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष लियाकत अलि, निरज गौतम, रुद्र सुवेदी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगी, सामुदायिक रेडियो प्रशारक संघका केन्द्रीय सदस्य मोहम्मद आरिफ अन्सारी, पत्रकार मधु पौडेल लगायतले धारणा राख्नुभएको थियो ।

उपाध्यक्ष करुणा शाहले स्वागत मन्तव्य गर्नुभएको कार्यक्रमको सञ्चालन शाखा सचिव कृष्ण ओलीले गर्नुभएको थियो ।

Previous articleचार जना क्रियाशिललाई काँग्रेस बाँकेले ग¥यो कारबाही
Next articleहिमालयन कम्पनीमा नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा सातजना घाइते

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here