
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर ४, सहानस्थित हिमालयन फुड कम्पनीमा कार्यरत नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा सातजना घाइते भएका छन् । घाइते हुनेमा दुई नेपाली र पाँच चिनियाँ कामदार छन् ।
मरिण वडा नम्बर ६, धमिलेका ३० वर्षीय नवराज बम्जनको दायाँ आँखा र दायाँ खुट्टामा चोट लागेको छ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर १२ का २२ वर्षीय गोर्कण कटुवालको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, हिमालयन फुड कम्पनीमा कार्यरत चिनियाँ नागरिक ३८ वर्षीय मिस्टर याङ, ४५ वर्षीय याङ हाइबो वाया, ४० वर्षीय छ्याङ छोङ, ४६ वर्षीय चुजेन र ३१ वर्षीय लेउसेन्सी घाइते छन् ।
उनीहरूको कान, टाउको, हात, छाती, मुखमा चोट लागेको र हाल प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचार भइरहेको उहाँले बताउनुभयो । धमिलेका ३० वर्षीय नवराजलाई कामबाट निकालेको विषयमा विवाद सुरु भएको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





