
मिलनचोक । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विषम परिस्थितिमा निर्वाचन हुन लागेको बताउनुभएको छ । जसपा नृपालले मंगलबार बाँकेको कम्दीस्थित मिलन चोकमा आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै उहाँले यो कुनै सहज अवस्थामा चुनाव हुन नलागेको भन्दै विषम परिस्थितिमा हुन लागेको बताउनुभयो ।
पाँच वर्षको समयावधि पाएको संसद ३ वर्षमै भंग भएर फेरि चुनाव हुन लागेको भन्दै मतदानमा विवेक पुर्याउन आग्रह गर्नुभयो । उहाँले मुलुकमा लामो समय काँग्रेस एमालेले सरकार चलाएको बताउँदै उनीहरुकै कारण विद्यमान समस्या देशमा उत्पन्न भएको बताउनुभयो ।
पछिल्लो ३५ वर्षमा ३० पटक सरकार फेरिएको भन्दै ठूला दलहरुको कारण राजनीतिक अस्थिरता उत्पन्न हुँदा युवा पुस्ता रिसाएको बताउनुभयो । उहाँले जेनजी आन्दोलनलाई भ्रष्टचार र कुशासनको विद्रोह भएको बताउनुभयो ।
एमाले नेतृत्वको सरकारले सामाजिक संजालमा लगाएको प्रतिवन्धका कारण पनि भदौं २३ र २४ गतेको घटना भएको बताउनुभयो । उहाँले सरकारले दमन गरेर बच्चाहरुको ज्यान लिएको पनि दावी गर्नुभयो ।
उहाँले केपी शर्मा ओली नेतृत्वको सरकार क्रुरुर हुँदा भदौं २४ को घटना घटेको समेत जिकिर गर्नुभयो । एमाले र काँग्रेसको संयुक्त सरकारले संसद बचाउन नसकेको बताउनुभयो । उहाँले ३५ वर्षदेखि ठूला दलहरुले सरकार चलाएको भन्दै अव भोट माग्न आउँदा किन जिताउने भनेर प्रश्न गर्न आग्रह गर्नुभयो ।
शिक्षा, स्वास्थ्य, कृषिका क्षेत्रमा सरकारले कुनैपनि काम गर्न नसकेको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभएको थियो । ठूला दलहरुले मधेशी तथा मुस्लिम समुदायको कुनै पनि हितमा काम नगरेको दाबी गर्दै उहाँले संविधानले मधेशी तथा मुस्लिम समुदायको पहिचान स्थापित गरेको उल्लेख गर्नुभयो ।
उक्त अधिकार मधेश आन्दोलनबाटै सम्भव भएको पनि उहाँको भनाई थियो । आज कुनै पनि मधेशी तथा मुस्लिम समुदायका मानिसहरु शिर निहुराएर हिड्नु पर्ने अवस्था नरहेको समेत उहाँले बताउनुभयो ।
चुनावी सभालाई सम्वोधन गर्दै जसपा नेतृ अम्बिका काफ्लेले वैचारिक सिद्धान्त भएको पार्टी जसपामात्रै भएको बताउनुभयो । उहाँले जसपाबाट चुनाव जित्ने र त्यसकै बलमा अहिले अरु पार्टीमा गएर चुनाव लड्नेहरुले धम्की दिने गरेको भन्दै त्यसको निन्दा गर्नुभयो । उहाँले संघीयता जोगाउन र मधेश मुद्धालाई संरक्षण गर्न छाता चिन्हमा मत हाल्न पनि सबैलाई आग्रह गर्नुभयो ।





