
नेपालगन्ज । बाँके प्रहरीले ढुवानी भइरहेको अवैध खयरको काठसहित एक ट्रक नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले विशेष सूचनाको आधारमा अवैध खयर काठ ढुवानी भइरहेको अवस्थामा ठूलो परिमाणको काठसहित ट्रक नियन्त्रणमा लिएको जनाएको छ ।
बाँके प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक पालतीका अनुसार यही १३ गते राति भे १ ख ४३९३ नम्बरको ट्रक मार्फत बर्दिया राजापुरबाट चोरी गरी ल्याइएको खयर काठ बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ पिप्रहवाबाट नियन्त्रणमा लिएको हो ।
बागेश्वरी कत्था उद्योग प्रा.लिमा लैजाँदै गरेको अवस्थामा प्रवेशद्वारमै ट्रक रोकी सब–डिभिजन वन कार्यालय नेपालगन्जका विज्ञ प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिको रोहवरमा चेकजाँच गरेर नियन्त्रणमा लिइएको प्रवक्ता पातलीले बताउनुभयो ।
चेकजाँच गर्दा कागजमा दुई सय थान उल्लेख गरिएको थियो तर ट्रकमा ४ सय ८२ थान फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले चालक नेपालगन्ज उपमहानगरपालिका-२० का राम चौहान खटिक, बागेश्वरी कत्था उद्योग प्रालि नेपालगन्ज १८ का संचालक विवेक मैनालीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको प्रवक्ता पातलीले जानकारी दिनुभयो ।





