काँग्रेसले सुशासनको संकल्प बोकेको छ: सभापति थापा

नेपालगन्ज । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सुशासनको संकल्प बोकेर कांग्रेस अघि बढेको बताउनुभएको छ ।

नेपाली कांग्रेस बाँकेले बिहीबार जानकी गाउँपालिका वडा नम्बर ३ मानपुरमा आयोजना गरेको वृहत चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले सुझबुझ, उत्साह र उर्जा बोकेर देश बनाउने प्रतिज्ञासहित कांग्रेस अघि बढेको बताउनुभयो ।

हिजो गरेका फोहोरलाई सफा गर्ने प्रतिज्ञा गरेर अघि बढेका छौं, सभापति थापाले भन्नुभयो, देशलाई बनाउँछौं, कांग्रेससंग विवेक छ, सामथ्र्य छ, देश बनाउने संकल्प छ ।

भदौ २३ र २४ को जेनजी विद्रोहपछि मुलुकमा विशिष्ट परिस्थितिमा अप्रत्याशितरुपमा निर्वाचन हुँदै गरेको भन्दै सभापति थापाले भन्नुभयो, फेरि एउटा प्रयोग नेपालमा नगरौं, २०७४ देखि २०८२ सम्मको अवधि खेर गएको छ, मुलुकले विकास र सुशासनमा यो समयलाई प्रयोग गर्न सक्नुपथ्र्यो, तर आठ वर्षको क्षतीपूर्ति गर्नुपर्नेछ, त्यो सामथ्र्य कांग्रेसले राख्दछ ।

गएको आठ बर्ष गति र मति दुबै ठीक नहुँदा मुलुक विकास र सुशासनको राजमार्गमा दौडिन नसकेको उहाँको भनाई छ । मुलुकलाई अब कांग्रेसले असामान्य तरिकाले बेजोड गतिमा अघि बढाउने दाबी गर्दै सभापति थापाले भन्नुभयो, बेजोडले गाडी दौडाउनुछ, कसैलाई नछोडेर, कांग्रेसले गाडी बेजोड गतिमा दौडिने ग्यारेन्टी गर्दछ, त्यति मात्र होइन दुर्घटनामा पर्न पनि दिँदैन ।,

अबको पाँच बर्ष रोजगारी, विकास, सुशासन र समृद्धिको बर्ष बनाउने संकल्प कांग्रेसले लिएको उहाँको भनाई थियो । सभापति थापाले २०४६ साल यता लाभको पदमा बसेका राजनीतिक ब्यक्तित्वहरुको सम्पत्ति छानविन गर्न कांग्रेस नेतृत्व गर्ने उद्घोष समेत गर्नुभयो । सामाजिक सञ्जालमा घृणा र उत्तेजना हाबी भइरहेको चर्चा गर्दै उनले आफूले सबै कुराको खण्डन गर्दै नहिंड्ने स्पष्ट पार्नुभयो ।

म खुला किताब हुँ, सबै विषयको खण्डन गर्दै हिँड्दिन,ू थापाको भनाई थियो । उहाँले सबै नेता कार्यकर्तालाई घरघरमा गएर कांग्रेसको मिसन र भिजनबारे प्रष्ट्याउन आह्वान समेत गर्नुभयो ।

खुट्टा दौडाउनुस्, हात जोड्नुस्, घरघर पुग्नुस्, आमनागरिकको भरोसा कांग्रेसप्रति बढ्दै गएको छ, मेरो नाम लिएर जिम्मा लिनुस्, म तपाईंहरुलाई निराश बनाउँदिनँ, थापाले भन्नुभयो । थापाले सबै जातजाती, धर्म, सम्प्रदायको अधिकार लेख्ने समितिको आफू सभापति रहेको स्मरण गराउँदै कांग्रेसले सबैप्रति सम्मानभाव राख्ने प्रष्ट पार्नुभयो । उहाँले बाँके बर्दियाका पाँचै निर्वाचन क्षेत्रबाट कांग्रेसका उम्मेदवारलाई जिताउन आह्वान गर्नुभयो ।

कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको उक्त सभालाई कांग्रेस उपसभापति पुष्पा भुसाल, पार्टीका लुम्बिनी प्रदेश सभापति एवम् बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार अमरसिंह पुन, कांग्रेसका निवर्तमान केन्द्रिय सदस्य एवम् बर्दिया क्षेत्र नम्बर १ का उम्मेदवार सञ्जय गौतम, पार्टीका लुम्बिनी प्रदेश उपसभापति राजु खनाल, कांग्रेस बाँकेका सभापति एवम् बाँके क्षेत्र नम्बर १ का उम्मेदवार नारायणप्रसाद गौडेल, नेपाली कांग्रेस बाँकेका सचिव एवम् बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार शुधान्सु कोइराला लगायतले सम्बोधन गर्नुभएको थियो ।

पार्टीका जिल्ला उपसभापति कृष्ण कार्कीले स्वागत गरेको उक्त कार्यक्रम सञ्चालन कांग्रेस बाँकेका जिल्ला सचिव एवम् लुम्बिनी प्रदेश सभाका सांसद सञ्जु कुमारी चौधरीले गर्नुभएको थियो ।

Previous articleकमरुद्दिन राईको घरदैलो : मतदाताको सम्मानले उत्साहित
Next articleबाँकेका चर्चित समाजसेवी बर्मालाई मातृशोक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here