
काठमाण्डौं । विश्व बैंकले वर्गिकरण गर्ने आय समूहमा नेपालको बढुवा भएको छ । यसअघि न्यून आय भएको मुलुकमा रहँदै आएको नेपाल यो वर्ष भने न्यूनमध्यम आय भएको मुलुकमा बढुवा भएको हो ।
प्रतिव्यक्ति आयका आधारमा संसारभरका मुलुकलाई चार समूहमा वर्गिकरण गर्दै आएको बैंकले यो वर्ष नेपाललाई एक तह बढुवा गरेको हो । न्यून, मध्यम न्यून,उच्च मध्यम र उच्च आय वर्गमा मुलुकहरुको बर्गिकरण गरिन्छ ।
बैंकले यो वर्षका लागि १०३६ डलरभन्दा न्यून प्रतिव्यक्ती भएका मुलुकलाई न्यून आय भएका मुलुकमा गणना गर्छ । नेपाल गत वर्षसम्म यही वर्गमा थियो । आयको यो थ्रेसहोल्ड प्रत्येक वर्ष परिवर्तन हुन्छ ।
त्यस्तै यो वर्ष १०३६ देखि ४०४५ डलरसम्म आय भएका मुलुक न्यून मध्यम आय भएका मुलुकमा गणना हुन्छन् । यो वर्ष नेपाल यही समूहमा पुगेको छ । नेपालको प्रतिव्यक्ती आय १०९० अमेरिकी डलर रहेको छ ।
त्यस्तै ४०४५ देखि १२५३५ डलरसम्म आय भएका मुलुक उच्च मध्यम आय वर्गमा हुन्छन् भने १२५३५ माथि आय भएका मुलुक उच्च आय वर्गमा हुन्छन् । आयको आधारमा विश्व बैंकले ऋणको ब्याज तथा अनुदान सहुलियत दिन्छ ।
त्यस्तै अन्य केही मुलुकहरुले पनि अनुदान दिंदा यही आय वर्गिकरणलाई आधार बनाउँछन् ।





