
बेलभार । बर्दियाको बारबर्दिया नगरपालिकामा बिद्यार्थीले महिनावारीका बिषयमा उपमेयरसंग खुल्ला छलफल गरेका छन् । बारबर्दिया नगरपालिका वडा नं ११ स्थित सिम्हा माध्यमिक बिद्यालयका बिद्यार्थीहरुले महिनावारीका बिषयमा उपमेयर अञ्जु दहितसंग खुल्ला छलफल गरेका हुन ।
महिलाहरुले वरदान स्वरुप पाएको महिनवारीलाई बिद्यालयस्तरमा व्यवस्थापनका लागि स्थानीय सरकारको योजना, कार्यक्रमका बारेमा किशोरी बिद्यार्थी र उपमेयरबीच छलफल भएको हो । बिद्यार्थीहरुले महिनावारी हुँदाको अवस्थामा समाजमा देखिएको र भोगिएको समस्याहरु राख्दै सोको निराकरणका बिषयमा छलफल गरिएको छ । सो क्रममा उनीहरुले महिनावारीका बेला पौष्टिक तत्व रहेको खानेकुरा दुध, दही खान नदिने गरेको र छुट्टै कोठामा राख्ने गरिएको कुरा उजागर समेत गरेका छन् ।
किशोरी बिद्यार्थीहरुले उपमेयर दहितलाई महिनावारीका बारेमा समाजमा अझै सचेतना फैलाउनुपर्ने आवश्यकता औल्याएका थिए । किशोरीहरुको समस्यालाई सम्बोधन गर्दै उपमेयर दहितले महिनावारी भएको बेला अत्तिन नहुने र बिद्यालयमा भएको अवस्थामा महिनावारी भए छात्रले जिस्काउन नहुने भन्दै यस अवस्थामा सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले बिद्यालयस्तरमा यसको व्यवस्थापनका लागि भौतिक पुर्वधार निर्माणका लागि नगरपालिकाको चासो रहेको र अगामी दिनमा व्यवस्थापनका लागि बिभिन्न कार्यक्रमहरु ल्याउने बताउनुभयो ।
महिनावारीलाई मर्यादित बनाउँदै समाजमा भएका छुवाछुत अन्त्यका लागि सबैको सक्रियता आवश्यक छ र त्यसका लागि नगरमार्फत सचेतना कार्यक्रम संचालन गर्न सकिने कुरामा समेत जोड दिइएको छ । महिनावारीलाई छुवाछुत गर्ने समाजकै व्यक्ति भएकाले त्यस्ता व्यक्तिको धारणामा परिवर्तन ल्याउन खुलेर बहस गरौं र जिम्मेवारी लिए नकारात्मक बुझाई परिवर्तन गर्न सकिने निष्कर्षमा छलफल गरिएको थियो ।
मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी भन्दै उपमेयरसंग छलफल गरिएको थियो । प्लान इन्टरनेशन नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको सहयोगमा गेरुवा ग्रामीण जागरण संघ, बर्दियाद्धारा मौतना तोडौं युवाको अगुवाईमा महिनावारी व्यवस्थापान परियोजनामार्फत यस बिद्यालयमा महिनावारी व्यवस्थापन तथा नमूना बिद्यालय निर्माण गर्ने कार्यक्रमहरु संचालनमा रहेको परियोजना अधिकृत संजिता तिवारीले जानकारी दिनुभयो ।
संवाद कार्यक्रममा बारबर्दिया नगरपालिका वडा नं ११ का वडा अध्यक्ष बिजय कुमार चौधरी, न्यायीक समिति सदस्य रामदुलारी थारु, वडा सदस्य डिल्ली बिक, बारबर्दिया नगरपालिका महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका उषा पुन, स्वास्थ्य शाखाका रामेश्वर थारुको उपस्थिति रहेको थियो । बिद्यालयमा संचालित परियोजनाले समाजलाई सकारात्मक शन्देस दिने भन्दै यो परियोजना अन्य बिद्यालयमा कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा समेत जोड दिइएको छ ।





