जानकीमा १३ औं राष्ट्रपती रनिङशिल्ड सुरु

मानपुर । “कोभिड विरुद्धको अभियानमा गुणस्तरीय शिक्षा र खेलकुद भन्ने नारा सहित” बाँकेको जानकी गाउँपालिकामा १३ औं राष्ट्रपती रनिङशिल्ड तथा विद्यालय स्तरीय तेस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता आइतबारदेखि सुरु भएको छ ।

जानकी- ४ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, मानपुरको प्राङणमा आइतबार लुम्बिनी प्रदेश सांसद बाबुराम गौतमले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

प्रतियोगिता तीन दिन अर्थात चैत्र १० गतेसम्म सञ्चालन हुने भएको छ ।प्रतियोगितामा विभिन्न विद्याका १७ वटा खेलकुद समावेश गरिएको छ । जानकी भित्रका माध्यमिक, आधारभूत र प्राथमिक विद्यालय गरी विभिन्न ३६ वटा विद्यालयका छात्र र छात्रा गरी ३ सय ८० जना विद्यार्थीहरुले सहभागी रहेको शिक्षा शाखा प्रमुख प्रतिभा ओलि खड्काले जानकारी दिनुभयो ।

स्वागत मन्तव्य दिँदै गाउँपालिका उपाध्यक्ष भुमिसरा धितालले प्रतियोगिता स्थापित भएको र विद्यार्थीमा खेलकुदको विकास हुँदै गएको उल्लेख गर्नुभयाे ।प्रतियोगिताको शुरुवातमा स्वागत गीत, र नृत्यमार्फत अतिथिलाई स्वागत गर्नुका साथै सहभागी विद्यालयका विद्यार्थीले मार्चपास गरि सलामी अर्पण गर्दा कार्यक्रमको मुख्य आकर्षण बनेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य प्रमुख अतिथि प्रदेश सांसद गौतमले विद्यार्थीहरुको चौतर्फी बिकासका लागि पढाइ मात्र नभएर शारीरिक र मानसिक बिकासका लागि खेलकुद महत्वपूर्ण भएको बताउनुभयाे । उहाँले पढाईका साथसाथै खेलकुद लगायतका अतिरिक्त क्रियाकलाप विद्यार्थीहरुका लागि महत्वपूर्ण रहने बताउनुभयाे ।

त्यस्तै गाउँपालिका प्रमुख रामनिवास यादवले पालिकालाई खेलुकदबाट चिनाउन जरुरी रहेको बताउनुभयो । उहाँले खेलकुदको क्षेत्रमा पालिकाले ठूलो लगानी रहेको र त्यसको पहिलो जग रनिङ शिल्ड भएको जिकिर गर्नु भयो ।

प्रतियोगिता उद्घाटन समारोहमा जिल्ला समन्वय समिती बाँकेका संयोजक अजय श्रीवास्तव, गाउँपालिका अध्यक्ष राम निवास यादव, उपाध्यक्ष भुमिसरा धिताल, प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख राम सुरेश यादव तथा नेपाल शिक्षक संगठन अध्यक्ष बामदेव सुवेदी र गाउँपालिका लेखा प्रमुख मतीन अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

Previous articleएक किलाे चरेससहित काेहलपुरबाट ३ जना पक्राउ
Next articleनरैनापुर ६ मा बाल विवाह बिरुद्ध सडक नाटक प्रदर्शन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here