नरैनापुर ६ मा बाल विवाह बिरुद्ध सडक नाटक प्रदर्शन

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिका वडा नं ६ का बिभिन्न गाउँ टोलहरुमा बाल विवाह न्युनिकरण सम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ ।

गाउँपालिका वडा नं ६ को कार्यालयको सहयोगमा सभ्य समाज नेपाल नेपालगञ्जले वडाको बिभिन्न गाउँहरुमा बाल विवाह सम्बन्धी सटक नाटक प्रदर्शन गरेको हो ।

वडाको सबैभन्दा बढि बाल विवाहको जोखिम रहेको क्षेत्र अनुमान गर्दै सडक नाटक मार्फत सचेतना फैलाइएको संस्थाका अध्यक्ष सूर्यलाल यादवले जानकारी दिनुभयो ।सानै उमेरमा विवाह गर्दा आइपर्ने समस्या, चुनौती, सम्भावित दुर्घटनालाई प्रस्तुत गरिनुका साथै नेपाल सरकारले बाल विवाह बिरुद्धको निर्माण गरेको कानून र त्यसमा रहेका व्यवस्थाले गर्ने सजाय पनि समेटिएको थियो ।

वडा नं ६ को जमुनी, सोनवर्षा, गंगापुर र नयाँबस्ती (भोजपुर) गाउँमा प्रदर्शन गरिएको सडक नाटकमा कलाकारहरु हारुन अलि, प्रकाश नेपाली, उदयराज जैसवाल, आरती बर्मा, सुरज नेपाली, जगदिश साहनी, मोहनी बालमिकी र बिद्या बर्माले अभिनय गर्नुभएको थियो ।सचेतनामुलक अभियानमा वडा नं ६ का वडा अध्यक्ष प्रेमपाल सिंह, वडा सचिव जीवनलाल यादव, स्थानीय समाजसेवी, स्याक नेपालका त्रिभुवन प्रसाद यादवको उपस्थिति रहेको थियो ।

पछिल्लो समय ढाँटेर बाल विवाह गर्ने गरिएको छ । बाल विवाह हुन लागेको भनेर अभियान्ता, प्रहरी घट्नास्थलमा पुग्दा अन्य धार्मिक कार्य हुने गरेको वा उमेर पुगेको व्यक्तिको विवाह हुन लागेको भनेर देखाउने गरेका छन् ।

प्लान इन्टरनेशनल नेपालले बाँके जिल्लामा बालविवाह सम्बन्धी गरेको प्रारम्भिक सर्वेक्षण, २०१९ अनुसार नरैनापुर गाउँपालिकामा ६७.३७ प्रतिशत किशोरी र ६७.३७ प्रतिशत किशोरको १९ वर्षमुनि नै बिहे हुने गरेको छ ।

Previous articleजानकीमा १३ औं राष्ट्रपती रनिङशिल्ड सुरु
Next articleबाँकेमा पाटे बाघको छालासहित ४ जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here