
डोटी । डोटीको पूर्वीचौकी गाउँपालिकामा पहिरोमा पुरिएर चार महिने बालकको मृत्यु भएको छ । पूर्वीचौकी गाउँपालिका–४ सानागाउँको नुवाकोटका भक्त दमाईंका चार महिनाको छोरा छत्र दमाईंको मृत्यु भएको हो ।
घरमाथिबाट आएको पहिरोमा पुरिएर बालकको मृत्यु भएको र देउवा दमाईं घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घाइतेको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने परिवारका अन्य सदस्य सकुशल रहेका छन् ।
घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले बालकलाई पुरेको जिल्ला प्रहरी कार्यालय डोटीको सूचना अधिकारी कर्ण बोहराले जानकारी दिनुभयो । रासस





