
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाभित्र हालसम्म करिब ६ हजार जनामा कोभिड संक्रमण देखिएको छ । उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दका अनुसार दुई हजार ५६९ महिला र तीन हजार ३८२ जना गरि ५ हजार ९६१ जनामा कोभिड संक्रमण देखिएको छ ।
कोभिड भएका मध्ये एक हजार ४९१ महिला र दुई हजार १३० जना पुरुष गरि तीन हजार ६२१ जना डिस्चार्ज हुनुभएको छ । उपमहानगरपालिकामा कोभिडबाट हालसम्म १९ महिला र २४ पुरुष गरी ४३ जनाको निधन भएको हो ।
आईतबारसम्म एक हजार १७२ जना महिला र एक हजार ३३७ जना पुरुष गरी दुई हजार ५०९ जना सक्रिय संक्रमित रहनुभएको छ । सक्रिय संक्रमितहरु सबै बैशाख ९ गतेपछि संक्रमण देखिएका हुनुहुन्छ । कोरोना रोकथाम र नियन्त्रणका लागि नगरभित्र प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था मिलाइएको नगर प्रमुख डा.धवलशम्शेर राणाले बताउनुभयो ।
उपमहानगरपालिकाले राज्यका विभिन्न निकाय र गैरसरकारी संघ संस्थासँग मिलेर रोकथाम र नियन्त्रणको अभियान चलाईरहेको छ । ह्वाईट हाउसमा सामान्य आईसोलेसन र रामलिला मैदानस्थित तालिम केन्द्रमा अक्सिजन सहितको आईसोलेसन केन्द्रसञ्चालन गरेको छ ।
आईसोलेसनमा चिकित्सकसहितको दक्ष जनशक्तिको व्यवस्थापन गरिएको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो । शंकाष्पद ब्यक्तिहरुको पिसिआर परीक्षणको व्यवस्था उप–महानगरपालिकाले गरेको छ । जमुनाहमा होल्डिङ सेन्टरका लागि समन्वय गरिएको छ । जमुनाहमै हेल्थडेस्क सञ्चालन गरेको छ ।
होम आईसोलेसनमा बस्नेहरुका लागि प्रत्येक वडामा स्वास्थ्यकर्मी खटाइएको छ । भेरी अस्पतालमा विरामी कुरुवाहरुको सहजताका लागि खानाको व्यवस्थापन गरिरहेको अञ्जनीमाता रसोईलाई मासिक ५० हजार रुपियाँ सहयोग गरिरहेको छ ।
कोभिडका विरामी ल्याउन लैजान निःशुल्क एम्बुलेन्सको ब्यवस्था गरिएको भन्दै उपप्रमुख मगरले कोभिड रोकथाम र नियन्त्रणका लागि सबै पक्षको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।





