अवकाश पाएका चिकित्सकलाई करारमा लिइने, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता

काठमाण्डौं । सरकारले अवकाश प्राप्त चिकित्सकलाई एक वर्षका लागि करारमा लिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै सरकारले अवकाश प्राप्त चिकित्सकलाई एक वर्षका लागि करारमा नियुक्त गर्ने पनि निर्णय गरेको जानकारी दिनुभयो ।

यस्तै स्वास्थ्यकर्मी, चालक, सहचालक, सफाइकर्मीलगायत कोरोना नियन्त्रणमा खटिनेहरूलाई सुरुको तलब स्केलको ५० प्रतिशतले हुन आउने रकम बराबर प्रोत्साहन भत्ता दिने पनि प्रधानमन्त्रीले घोषणा गर्नुभएको छ । यस्तै उनीहरूका परिवारको उपचार र बीमाको व्यवस्था गरिने भएको छ ।

यस्तै प्रधानमन्त्री ओलीले कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट वञ्चित हुन नपरोस् र ज्यान नजाओस् भन्नेमा सरकार सचेत रहेको बताउँदै सङ्घीय सरकार, प्रदेश र पालिकाहरूमा विभिन्न तहका अस्पताल बनाउने काम भइरहेको पनि जानकारी दिनुभयो । वीर अस्पतालको नयाँ भवन, सेनाको त्रिचन्द्र मिलिटरी अस्पताल र अन्य केही ठूला अस्पताललाई कोभिड अस्पतालको रूपमा विकास गरिने प्रधानमन्त्रीले बताउनुभयो ।

यस्तै नेपाली सेनालाई एक हजार शैय्याको अस्पताल बनाउन निर्देशन दिइएको पनि प्रधानमन्त्रीले जानकारी दिनुभयो । साथै पार्टी प्यालेस, विद्यालय, रङ्गशाला हल, होटल, कारखाना, गोदाम घर लगायतलाई क्वरेण्टीन, आइसोलेशन, होल्डिङ सेन्टर बनाउने ओलीको भनाइ छ ।

यस्तै देशभरका ठूला अस्पतालमा अक्सिजन प्लान्ट बनाउने, भएका प्लान्टको क्षमता बढाउने र बिग्रेका प्लान्टको मर्मत गर्न निर्देशन दिइएको प्रधानमन्त्रीले बताउनुभयो । साथै अस्पतालले हरेक दिन आफूसँग भएका शैय्याको बारेमा स्वास्थ्य मन्त्रालयलाई रिपोर्ट पठाउनुपर्ने र शैय्या लुकाएको पाइएमा कारबाही हुने प्रधानमन्त्रीको भनाइ छ ।

Previous articleबाँकेमा कोरोनालाई परास्त गर्ने संख्या बढ्दै, बैशाख यता १६२४ जनाले जिते
Next articleतीन संस्थाद्धारा २४ लाख बढिको स्वास्थ्य सामाग्री प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here