
पिप्रहवा । बाँकेमा कोरोना संक्रमणले चरम रुप लिएको बेला पनि नेपाल भारतका नागरिकहरु बिना चेकजाँच नै खुल्ला रुपमा ओहोर दोहोर गर्ने गरेका छन् । कोरोना महामारीको दोस्रो लहर शुरु भएको छोटो समयमै जिल्लामा उपचारमा सकस सृजना भएको अवस्था छ भने अर्कोतिर खुल्ला सीमा नाका भएर मानिसहरुको ओहोर दोहोर निरन्तर भइरहेको देखिएको छ ।
जिल्लाको मुख्य नाकाका रुपमा रहेको जमुनाहामा भारतबाट आउने व्यक्तिहरुको स्वास्थ्य जाँच हुने गरेको छ भने नेपालबाट अत्यावश्यक काम बाहेकलाई जान रोक लगाइएको छ । तर जिल्लाका अन्य नाकाहरु भएर दैनिक हजारौ मानिसहरुको आवत जवात पहिलाकै जस्तै यथावत देखिन्छ ।
मुख्य तथा छोटी नाकाहरुमा प्रहरीले रोक लगाउने गरेको भएपनि सहायक नाका या भनौ चारैतिर खुल्ला भएकाले प्रहरीको आँखा छलेर मानिसहरु भारत जाने आउने गरेको पाइएको छ । जिल्लाको जानकी गाउँपालिका वडा नं १ को भारतीय क्षेत्रसंग सीमा जोडिएका मुख्य बाटोमा रोक लगाइएको भएपनि बाटो नभएका क्षेत्रबाट मानिसहरुको आवात जावत जारी रहेको स्थानीयहरुले बताएका छन् ।
त्यस्तै नेपालगञ्ज उपमहानगरपालिकासंग सीमा जोडिएको क्षेत्रको मुख्य बाटोमा प्रहरी तैनाथ भएको भएपनि सहायक बाटो भएर मानिस भारत जाने र आउने गरेका छन् । त्यस्तै डुडुवा गाउँपालिकासंग सीमा जोडिएको क्षेत्रमा पनि खुल्ला रुपमा मानिसहरुको ओहोर दोहोर भइरहेको छ ।
समयपत्र डटकमको टिम डुडुवाको वडा नं १ को पिप्रहवा क्षेत्रमा पुग्दा खुल्ला रुपमा मानिसहरु भारततर्फ गइरहेको पाएको छ । गाउँपालिकाले हेल्थ डेस्क स्थापना गरेको बाटोमार्फत दैनिक रुपमा पाँच छ जना मात्रै भारतबाट आउने चेकजाँच विवरणले देखाउँछ । तर आवश्यक कामका लागि भारत जानेको कुनै विवरण नरहेको देखिएको छ । त्यस्तै मुख्य बाटो भएर प्रहरीले रोक्ने गरेको भनेर अन्य बाटो र खेतको बाटो भएर हजारौ मानिसहरु आइरहेको गइरेहका छन् ।
स्थानीयका अनुसार प्रहरीले रोक्ने बाटो भएर मानिसहरु जाँदैनन तर अन्य बाटो भएर जानेहरु गइरहेका छन् । उनीहरुलाई कस्ले रोक्ने ? भारतमा कोरोना महामारीले बिकराल रुप लिइरहेका बेला नेपालका नाकाहरुमा कडाई नगर्दा नेपालमा यसले स्थिति अझै नाजुक बन्दै गएको छ ।
नाम नलेख्ने शर्तमा मात्रै एक स्वास्थ्यकर्मी डुडुवा गाउँपालिकाको सीमा क्षेत्रमा देनिक पाँच सय मानिसहरुको आवत जावत हुने गरेको बताए । पालिकाले तीन ठाउँमा हेल्थ डेस्क राखेको स्थान बाहेक धेरे मानिसहरु खुल्ला बाटोबाट आइरहेका छन् ।
जिल्लाको सदरमुकाम नेपालगञ्जमा भएका अस्पतालहरु कोरोनाका बिरामीले भरिएका छन र उपचार पाउन गाह्रो भएको छ भने उपचारका लागि बेड समेत नपाउने अवस्था सिर्जित भएको छ, तर जहाँ खुल्ला रुपमा मानिसहरु आउने जाने गरेका छन् र जहाँ अत्याधुनिक स्वास्थ्य व्यवस्था छैन, त्यहाँ यो महामारीले बिकराल रुप लियो भने हालत के हुन्छ ? गाउँपालिकाले बेलैमा सावधानी अपनाउनुपर्ने देखिन्छ ।
भारत जान खोज्ने मानिसहरुले पनि भोलि एक जना बिरामी भएर नेपाल आएको अवस्थामा गाउँमा सबैलाई समस्या भयो र गाउँ नै रोगले थला पर्यो र उपचार नपाउन अवस्था आयो भने के हुन्छ ? त्यसका सर्वसाधारणले पनि यसतर्फ ध्यान दिन आवश्यक छ । बेलैमा सर्तकता अपनायौं भने निम्तिन सक्ने जोखिमबाट बच्न सकिन्छ । एक जनाका कारणले अरु कसैलाई समस्या नहोस भन्ने कुरा पनि ख्याल गर्न आवश्यक छ ।
बाँके प्रशासनले मुख्य नाका बाहेकको क्षेत्रमा पनि कडाई गर्नुपर्ने देखिन्छ, हैन भने अहिलेको अवस्था भन्दा स्थिति झन खराब बन्न सक्छ ।





