
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नियन्त्रणमा आइसकेको कोरोना भाइरसको संक्रमण सर्वसाधारणको लापरवाहीका कारण पुनः तीव्र गतिमा फैलिएको आरोप लगाउनुभएको छ ।
अमेरिकी नेटवर्क टेलिभिजन न्यूज च्यानल सिएनएनलाई शनिबार बिहान दिएको अन्तर्वातामा प्रधानमन्त्री ओलीले पहिलो लहरको संक्रमण लगभग नियन्त्रणमा आएपछि सर्वसाधारणले सावधानी नअपनाउँदा दोस्रो लहर आएको दाबी गर्नुभएको हो ।
उहाँले सिएनएनलाई भन्नुभयो, ‘गएको वर्ष हामीले संक्रमण नियन्त्रणमा लिएका थियौँ । मृत्युदर शून्यमा आएको थियो । संक्रमण पनि दैनिक ५० को हाराहारीमा झरेको थियो । तर मानिसहरुले महामारी सकिएको ठाने, लापरवाही गरे । त्यसकारण महामारीको दोस्रो लहर आयो । हामीले अहिले अवस्था नियन्त्रणका लागि हाम्रो सम्पूर्ण संयन्त्र परिचालन गरेका छौँ ।’
अहिले आफूहरु नागरिकलाई सचेत बनाउँदै संक्रमणबाट जोगाउन लागि परेको दाबी प्रधानमन्त्री ओलीले सिएनएनसँग गर्नुभएको छ । उहाँले नेपालमा हाल कोरोना भाइरसको संक्रमण नियन्त्रणको अवस्थामा रहेको दाबी गर्नुभयो ।
तर स्वास्थ्य मन्त्रालयले भने केही समय पहिले संक्रमण तीव्र गतिमा फैलिएको र स्वास्थ्य सेवाले थेग्न सक्ने अवस्था नरहेको बताएको थियो । अहिले पनि सरकारले आन्तरिक रुपमा गर्ने सर्कुलर तथा सूचनाहरुमा अवस्था भयावह रहेको बताउने गरेको छ ।
तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग भने प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महमारी ‘अन्डरकन्ट्रोल’ रहेको दाबी गर्नुभयो । सर्वसाधारणको लापरवाहीलाई दोष लगाउनुभएका ओलीले आफूसहितको उपस्थितिमा भएका विशाल राजनीतिक सभा तथा र्यालीहरु अहिलेको संक्रमणका लागि कारक रहेको भने स्वीकार गर्नुभएन ।
शुक्रबार एकै दिन नेपाल ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको थियो । अहिले संक्रमण ४० प्रतिशत वा त्यो भन्दा माथि रहेको छ ।





