
नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँकेले कोरोना संक्रमण देखिने पत्रकारको स्वास्थ्य चेकजाँचका लागि डाक्टरको व्यवस्था गरेको छ । पत्रकार महासंघ बाँकेले पत्रकारको स्वास्थ्य जाँचका लागि नेपालगन्ज मेडिकल कलेजका फिजिसियन/फोक्सो रोग बिशेषज्ञ डा.सुभाष योगीलाई परामर्शदाता नियुक्त गरेको हो ।
पत्रकारको स्वास्थ्य चेकजाँचका लागि कोरोना अवधिभरका लागि निः शुलक रुपमा परामर्शदाताका रुपमा नियुक्त गरेको जनाएको छ । पत्रकार महासंघ बाँके अध्यक्ष दामोदर भण्डारी र डा.योगीबिच सोमबार सम्झौता गरिएको छ । कोही पत्रकार कोरोना लागेर बिरामी भएमा महासंघद्वारा डा.योगीलाई साथमा लिएर घरमै गइ स्वास्थ्य चेकजाँच गराइनेछ ।
२ हजार बढि कोरोनाका बिरामीको उपचार गरिसक्नु भएका डा.योगीले औषधी उपचार तथा विभिन्न जाँचहरु गराउनु हुने र गम्भीर स्वास्थ्य अवस्था देखिए अस्पताल भर्नाको लागि रिफर गर्नु हुनेछ । महासंघ बाँके शाखाले कोरोना संक्रमित पत्रकारको उपचारमा सघाउने यसअघि नै स्पष्ट पारेको छ ।
अध्यक्ष भण्डारी र सचिव कमल डाँगीद्वारा यसअघि जारी गरिएको बिज्ञप्तीमा यस परिस्थितिमा अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुको स्वास्थ्य सुरक्षाको विषय चुनौतीपूर्ण बनेको उल्लेख गर्दै बाँकेका सम्पुर्ण पत्रकारहरुको जिउ ज्यानको सुरक्षाका निम्ति महासंघ बाँके गम्भीर र चिन्तित् भएको जनाएको छ ।
त्यस्तै कोरोना संक्रमण कसैलाई नहोस् भन्ने कामना गर्दै महासंघले यदि संक्रमण भएमा अस्पतालमा उपचार गराउन महासंघ लागि पर्ने जनाएको छ । कोरोना बिरामीलाई अक्सिजन अत्यावश्यक पर्ने भएकोले महासंघ बाँके शाखाले जिल्लाका पत्रकारको लागि अक्सिजन तयारी अवस्थामा राखेको जनाएको छ ।





