रेम्डिसिभिर बिक्री गरेको प्रमाण नभेटिएपछि दुई लाख जरिवाना

नेपालगञ्ज । कोरोना संक्रमित बिरामीहरुले प्रयोग गर्ने रेमडिसिभिर औषधीको अभाव रहेको र चर्को मुल्यमा बिक्रीवितरण भइरहेको जनगुनासो बढेपछि अनुगमनलाई तीव्रता दिइएको छ ।

दुई दिन अघि बाँकेको कोहलपुर क्षेत्रमा रहेका औषधी पसलहरुमा अनुगमन गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जले सोमबार नेपालगन्ज मेडिकल कलेजभित्र संचालित गौतम बुद्ध फार्मेसीको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा फार्मेसीमा चैत्र र बैशाख महिनामा गरि जम्मा ७०७ भाएल रेमडिसिभिर आएको र त्यसमध्ये ३६६ कोहलपुर डिपोमा पठाइएको, २५८ भाएल बिक्री गरिएको, ५१ भाएल संक्रमित हस्पिटल र फार्मेसी स्टाफहरुलाई दिइएको, ११ भाएल स्टक रहेको देखिएको छ ।

तर २१ भाएल रेम्डिसिभिर बिना बिल बिक्री वितरण गरेको पाइएकोले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ को उपदफ (१) को खण्ड (ख) बमोजिम तत्काल दुई लाख जरिवाना गरिएको अनुगमनमा सहभागी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका सूचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिनुभयो ।

यस्तै औषधी बिक्री गर्दा बिल अनिवार्य जारी गर्न र बिलमा मिति, खरिद कर्ताको नाम, औषधीको नाम, ब्याच नं. आदि उल्लेख गर्न निर्देशन समेत दिइएको सुचना अधिकारी चौलागाईंले बताउनुभयो ।

बजार अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्याल, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मा, औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका धन बहादुर बोहरा र लोकेश गिरी, अधिवक्ता एवं उपभोक्ता हित संरक्षण मंच बाँकेका अध्यक्ष बसन्त गौतम, वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काको सहभागिता रहेको थियो ।

Previous articleबाँके कांग्रेसले दियो पत्रकारलाई स्वास्थ्य सामाग्री
Next articleनेपालगञ्जका बिभिन्न स्थानबाट ३८ थान अक्सिजन सिलिण्डर बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here